जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वले निर्वाचनअघि गरेका प्रतिबद्धता पूरा गरे प्रधानमन्त्री बालेन्द्र शाहको खुलेर प्रशंसा गर्ने बताएका छन्।
रास्वपाको ऐतिहासिक पहिलो महाधिविवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राउतले जनतासँग गरिएको वाचा व्यवहारमा उतार्न नेतृत्वलाई सुझाव दिए। उनले जनकपुरको आमसभामा गरिएको उद्घोष स्मरण गराउँदै ती प्रतिबद्धता कार्यान्वयन गर्न सके आफू महाकाली पुगेर प्रधानमन्त्रीको गीत गाउनेसम्मको अभिव्यक्ति दिए।
उनले भने, “जनकपुरको आमसभामा गरिएका प्रतिबद्धतामात्र पूरा गरे हुन्छ। हुलाकी राजमार्गमा सररर गाडी चढ्ने अवस्था बन्यो भने म महाकाली पुगेर प्रधानमन्त्रीकै गीत गाउँछु।”
राउतले आफ्नो भनाइलाई जनअपेक्षा र राजनीतिक उत्तरदायित्वसँग जोड्दै बेलुनभित्रको हावाको उदाहरण दिएका थिए। उनका अनुसार बेलुन फुटेपछि हावा जहाँ पनि पुग्न सक्ने भएकाले जनसमर्थनलाई स्थायी ठान्नु नहुने र जनविश्वास जोगाउन काममार्फत प्रमाणित गर्नुपर्ने सन्देश दिएका हुन्।
सम्बोधनका क्रममा उनले रास्वपा र वर्तमान सरकारलाई आफ्नो पार्टीको साथ र सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरे। साथै, जनतासामु गरिएको प्रतिबद्धता पूरा गर्न सके राजनीतिक परिवर्तनप्रतिको भरोसा अझ बलियो बन्ने धारणा राखे।
प्रकाशित: ७ असार २०८३ १६:३७ आइतबार