राजनीति

‘तीन पटक राष्ट्रपतिको अफर आएको थियो, पदको लोभ गरेको भए उहिल्यै राष्ट्रपति भइसक्थें’

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई तीन-तीन पटक राष्ट्रपतिको अफर आए पनि कार्यकारी राजनीति रोज्दै अस्वीकार गरेको दाबी गरेका छन्।

बुधबार नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग ‘नागरिक फ्रन्टलाइन’ कार्यक्रममा कुराकानी गर्दै नेता नेपालले यदि आफूमा पदको आशक्ति हुन्थ्यो भने गणतन्त्र नेपालको पहिलो राष्ट्रपति नै आफू बन्ने परिस्थिति रहेको स्मरण गरे।

‘मान्छेहरू माधव नेपालले पदमा लोभ गर्‍यो भन्छन्, तर मैले पदको लोभ गरेको भए उहिल्यै शीतल निवास पुगिसक्थेँ,’ नेता नेपालले भने, ‘मेरो प्राथमिकता कहिल्यै पद भएन, काम र सक्रिय राजनीति मात्र भयो।’

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई पहिलो राष्ट्रपति बन्न औपचारिक प्रस्ताव गरेको नेपालले सुनाए।

‘सुरुमा मैले मेरो उमेर भएको छैन, म निष्क्रिय पदमा बस्दिनँ भनेर मान्दै मानिनँ,’ उनले भने, ‘तर पार्टीका सबै नेताहरूको चर्को दबाबपछि म उम्मेदवारी दिन तयार भएँ। जब मनोनयन दर्ता गर्न जाने बेला भयो, माओवादीले अचानक सहमति तोडेर रामराजाप्रसाद सिंहको नाम अघि सार्‍यो।’

त्यो राजनीतिक धोकाले आफूलाई ठूलो चोट पुगेको र त्यसको बदला लिन आफूले तत्काल राजनीतिक पहलकदमी लिएको उनले सुनाए। ‘त्यसपछि मैले कांग्रेसका गिरिजाप्रसाद कोइराला, मधेशी दलका उपेन्द्र यादव र महन्थ ठाकुरलाई बोलाएर बैठक राखेँ। मधेशी फ्याक्टरलाई हेरेर कांग्रेसबाट डा. रामवरण यादवलाई अघि सार्न मैले नै गिरिजाबाबुलाई सुझाएँ र दोस्रो चरणमा यादवजीलाई जिताएरै छाड्यौं।’

संविधान जारी भएपछि २०७२ सालमा पनि नेकपा एमालेभित्रबाट आफूलाई राष्ट्रपति बन्न सिङ्गो पार्टीले दबाब दिएको नेपालले स्मरण गरे।

‘त्यतिबेला म ६० वर्षवरपरको थिएँ। मैले भनेँ, म बूढो भएको छैन, काम गर्ने जाँगर र ऊर्जा बाँकी नै छ, म किन अहिले नै राष्ट्रपति भएर निष्क्रिय बसूँ ?’ उनले भने, ‘मैले अस्वीकार गरेपछि भोलिपल्ट विद्या भण्डारी र विष्णु पौडेल बालुवाटार आएर मलाई साथ दिन आग्रह गर्नुभयो। त्यसपछि मैले हुन्छ भनेर पार्टीबाट विद्याजीलाई राष्ट्रपतिको उम्मेदवार बनाइयो।’

पछिल्लो पटक वर्तमान राष्ट्रपति निर्वाचनका बेला पनि आफ्नो नाममा राष्ट्रिय सहमति बन्ने अवस्था आएको उनले खुलाए। तत्कालीन समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत आफूलाई भेटेर राष्ट्रपतिको प्रस्ताव राखेको तर आफूले विश्वास नगरेको उनले बताए। उता प्रचण्डले पनि गठबन्धनबाट आफ्नो नाम प्रस्ताव गरेका थिए।

‘तर, गठबन्धनको बैठकमा शेरबहादुर देउवाजीले मलाई भन्नुभयो, ‘माधवजी, मैले रामचन्द्र पौडेलजीलाई बचन दिइसकेको छु, तपाईं मानिदिनुस्,’ नेपालले भने, ‘देउवाजीले त्यति भन्नेबित्तिकै मैले कुनै अडान राखिनँ। हुन्छ, तपाईंले बचन दिनुभएको हो भने रामचन्द्रजीलाई नै बनाउनुस् भनेर मैले सहजै छोडिदिएँ।’

पदका लागि मरिहत्ते गर्ने मान्छे भएको भए आफूले देउवा र प्रचण्डसँग त्यहीँ अडान लिएर सम्झौता गर्न सक्ने भन्दै पूर्वप्रधानमन्त्री नेपालले आफू सधैँ गतिशील र परिणाममुखी राजनीतिमा विश्वास गर्ने बताए।

प्रकाशित: ७ आश्विन २०८३ १९:५४ बुधबार