नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी सच्चिएर र नीतिगत रूपमा स्पष्ट भएर आगामी निर्वाचनमा गएमा जनताले फेरि विश्वास गर्ने दाबी गरेका छन्।
उनले हालैको जेन-जी युवा आन्दोलनले दिएको खबरदारीलाई आत्मसात् गर्दै पार्टीले आफूलाई ‘करेक्सन’ गर्नुपर्ने बेला आएको बताए।
बुधबार नागरिक न्युजको डिजिटल कार्यक्रम ‘फ्रन्टलाइन’ मा बोल्दै पौडेलले कांग्रेसले विगतमा गरेका गल्तीहरू स्वीकार गर्नुपर्ने र अबका दिनमा भ्रष्टाचार नियन्त्रण र सुशासनका सवालमा स्पष्ट दृष्टिकोणसहित जनतामा जानुपर्ने धारणा राखे।
‘हामीले सत्तामा गएको कारणले गल्ती पनि गर्यौँ, केही राम्रा कामहरू पनि गर्यौँ,’ पौडेलले भने, ‘तर हामीले गरेका राम्रा कामहरू, भ्रष्टाचारको मुद्दामा हामी प्रष्ट हुन नसक्दा ओझेलमा परे। सबै नराम्रै कामहरू मात्रै भएका हुन् कि भनेर कसैले भ्रम सिर्जना गर्ने स्थिति बन्यो।’
उनले यो स्थिति अन्त्य गर्नका लागि पार्टीले आफूमाथि नै छानबिन गर्न र सुशासनका लागि ठोस प्रतिबद्धता जनाउन तयार हुनुपर्ने बताए। ‘हाम्रा कमीकमजोरीलाई स्वीकार गरेर गयौँ र विषयहरूमा प्रष्ट भएर गयौँ भने हामीलाई जनताले फेरि विश्वास गर्ने स्थिति छ,’ उनले भने।
नेता पौडेलले अहिले उठेका शासकीय स्वरूप, संविधान संशोधन, भ्रष्टाचार अन्त्य र सुशासनजस्ता सबै विषयलाई सम्बोधन नगरी ‘जस्तो छ, ठीक छ’ भनेर चुनावमा जाँदा जनमत प्राप्त गर्न नसकिने बताए।
उनका अनुसार, महाधिवेशनमार्फत यी सबै विषयमा स्पष्ट भएर र नयाँ नेतृत्व चयन गरेर मात्र कांग्रेस निर्वाचनमा जानुपर्छ, जसले पार्टीलाई ‘डिफेन्सिभ’ हुनबाट जोगाउनेछ।
उनले थपे, ‘अहिले पनि हामी पूर्ण रूपमा सच्चिएर गयौँ, करेक्सन गरेर गयौँ भने हामीलाई जनताले फेरि विश्वास गर्ने स्थिति छ। हामीलाई चेतावनी दिएको हो, खबरदारी गरिएको हो। त्यो कुरा त हामीले मान्नुपर्यो नि।’
प्रकाशित: १९ कार्तिक २०८२ १९:३५ बुधबार