नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले भ्रष्टाचारमुक्त प्रशासन र प्रभावकारी सुशासनलाई आफ्नो मुख्य प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले जेन-जी आन्दोलनले उठाएका भ्रष्टाचार र कुशासनविरुद्धका मुद्दालाई सम्बोधन गर्नु आफ्नो पहिलो कर्तव्य हुने बताएकी हुन्।
‘मुहान सफा भयो भने मात्र तल सफा हुन्छ,’ उनले भनिन्, ‘अहिले प्रशासनको मुहान सरकार हो, र त्यसको मुनि हामी मन्त्रीहरू छौँ। त्यसैले कुनै पनि तहबाट भ्रष्टाचार भएको सुन्न नपरोस् भन्नेमा म दृढ छु।’
उनलले खरिद प्रक्रियालाई पूर्ण पारदर्शी बनाउने र शून्य भ्रष्टाचारको नीति अवलम्बन गर्ने सुनाइन्।
पदभार ग्रहण कार्यक्रममा मन्त्री शर्माले जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिन्।
उनले स्वास्थ्य मन्त्रालयमा ३२ वर्ष सेवा गरेको अनुभव सुनाउँदै जटिल परिस्थितिमा मन्त्रालयको जिम्मेवारी सम्हाल्न आइपुगेको बताइन्।
प्रकाशित: ९ कार्तिक २०८२ १६:५६ आइतबार



