राजनीति

मातृत्वसँगै नेतृत्वमा रन्जु : ‘धोका दिनेका लागि अब सधैंलाई ढोका बन्द’

काठमाडौं क्षेत्र नम्बर-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रन्जु न्यौपाने (दर्शना) १५ हजार ४ सय ५५ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइन्।

पूर्ण गर्भावस्थादेखि सुत्केरीसम्मको कठिन शारीरिक अवस्थामा चुनाव लडेकी उनलाई मतदाताले मातृत्वसँगै नेतृत्वको बलियो जिम्मेवारी सुम्पेका छन्।

जितको प्रमाणपत्र बुझ्न शुक्रबार बानेश्वरस्थित सहकारी प्रशिक्षण केन्द्र पुग्दा रन्जुको अवस्था सामान्य जस्तै थिएन। ११ दिनअघि मात्र शल्यक्रियामार्फत छोरालाई जन्म दिएकी उनी शारीरिक रूपमा कमजोर थिइन्।

सुन्निएको शरीर र घाँटीको संक्रमणका बाबजुद उनी मतदातालाई धन्यवाद दिन र खुसी साट्न मतगणना स्थल पुगेकी हुन्। ९ महिनाको गर्भ बोकेरै चुनावी प्रचारमा होमिएकी उनलाई मतदाताले साहसी नेतृका रूपमा अनुमोदन गरे।

१९ वर्षको उमेरदेखि राजनीतिमा सक्रिय रन्जुले आफ्नो जितलाई वैकल्पिक राजनीतिप्रतिको जनविश्वास भएको बताउँछिन्। पुराना दलहरूले नागरिकलाई बारम्बार धोका दिएको सुनाउँदै उनले अब त्यस्तो प्रवृत्तिको अन्त्य गर्ने दाबी गरिन्।

उनले सुनाइन, ‘मतदाताले धोका दिनेहरूलाई ढोकै बन्द गरिदिनुभयो। अब हामी पनि नागरिकलाई धोका दिनेहरूका लागि ढोका बन्द गर्दै काम गर्नेछौं।’

जितपछि विवेकशील साझाका संस्थापक दिवङ्गत नेता उज्वल थापालाई स्मरण गर्दै उनी भावुक बनेकी थिइन्। वैकल्पिक राजनीतिलाई बलियो बनाउँदै आगामी पाँच वर्ष जनताको हितमा समर्पित हुने उनको प्रतिबद्धता छ। खासगरी युवा पलायन रोक्ने विषयलाई उनले प्राथमिकतामा राखेको प्रस्ट पारेकी छन्।

‘सन्तानसँग छुट्टिएर बस्नुको पीडा कति ठूलो हुन्छ भन्ने अहिले म आफैंले महसुस गरेकी छु। त्यसैले युवाहरू विदेशिनु नपर्ने र विदेशीहरू घुम्न आउने नेपाल बनाउने लक्ष्यसहित काम गर्नेछु।’ उनको भनाइ थियो।

१७ वर्षको उमेरदेखि सामाजिक अभियान र राजनीतिमा लागेकी रन्जुले २२ वर्षको उमेरमा काठमाडौं महानगरपालिकाको मेयरमा प्रतिस्पर्धा गरेर राष्ट्रिय चर्चा कमाएकी थिइन्। त्यतिबेला पराजित भए पनि यसपटकको प्रतिनिधिसभा निर्वाचनमा भने उनले भारी मतका साथ सफलता हात पारेकी छन्।

मुख्य निर्वाचन अधिकृत चुरामण खड्काका अनुसार यस क्षेत्रमा कुल ४८ हजार ४ सय ८९ मतदाता रहेकोमा २९ हजार ७ सय ७४ मत खसेको थियो। जसमा ६१.४० प्रतिशत मतदान हुँदा ६ सय ९२ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित: २२ फाल्गुन २०८२ २०:११ शुक्रबार