राजनीति

जेनजी सहिदको सपना साकार पार्न कुनै कसर बाँकी राख्दिनँ : आशिका तामाङ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको बलिदानबाट बनेको वर्तमान सरकार उनीहरूको माग र अपेक्षाअनुसार अघि बढ्नुपर्ने बताएकी छन्।

जेनजी आन्दोलनको पहिलो वार्षिकोत्सवका अवसरमा सामाजिक सञ्जालमार्फत तामाङले एक वर्षअघि भएको घटनालाई स्मरण गर्दै यस्तो बताएकी हुन्। उनले आन्दोलनका क्रममा युवाहरूलाई बानेश्वरतर्फ अघि नबढ्न आग्रह गर्न पाएको भए धेरैको ज्यान जोगिन सक्ने भाव व्यक्त गरेकी छन्।

तामाङले जेनजी युवाहरूको बलिदानपछि भएको निर्वाचनबाट वर्तमान सरकार बनेको उल्लेख गर्दै आन्दोलनको माग सामाजिक सञ्जालमाथिको प्रतिबन्ध अन्त्यमा मात्र सीमित नभएको बताएकी छन्। भ्रष्टाचार, बेथिति, कुशासन र नातावादको अन्त्य पनि आन्दोलनका महत्वपूर्ण मुद्दा रहेको उनको भनाइ छ।

निर्वाचित भएपछि आफूले ती मुद्दा नबिर्सिएको बताउँदै तामाङले भ्रष्टाचार गर्ने, काम नगर्ने, ढिलासुस्ती गर्ने तथा जनतालाई दुःख दिनेहरूमाथि निरन्तर सार्वजनिक रूपमा प्रश्न उठाउँदै आएको दाबी गरेकी छन्।

'यो बाटो हिँड्दा आफ्नै भनिएकाहरूको साथसमेत गुमाएर एक्लै लड्नुपर्ने रहेछ। तर म सदैव भुइँमान्छेको आवाज थिएँ र सदैव रहिरहनेछु,' उनले भनेकी छन्।

उनले जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाहरूले देखेको सपना साकार पार्न आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छन्।

तामाङले आन्दोलनमा ज्यान गुमाएका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको आत्माको शान्तिको कामना गरेकी छन्।

प्रकाशित: २३ भाद्र २०८३ ०९:५२ मंगलबार