कोशी प्रदेशका प्रदेश सदस्य राजेन्द्र राईले बुधबार प्रदेश सभामा आफुले देखाएको आक्रोशपूर्ण स्वाभाविक भएको बताएका छन्। उनले बिहीबार सामाजिक सञ्जालमार्फत प्रतिपक्षलाई पेलेर सभा सञ्चालन गर्न खोजिएपछि प्रतिवादमा उत्रिन बाध्य भएको बताएका हुन्।
बुधबार नीति तथा कार्यक्रममाथिको छलफलमा सभामुखले बोल्न पर्याप्त समय नदिएपछि उनी आफ्नो सिटबाट उठेर रोष्ट्रमतर्फ दौडिएका थिए। सो क्रममा उनले माइकसमेत तानेपछि केही समय प्रदेशसभा प्रभावित भएको थियो । मर्यादा पालकले उनलाई रोक्न हम्मेहम्मे परेको दृश्य सामाजिक सञ्जालमा भाइरल बनेको छ।
घटनापछि बिहीबार उनले संसद नियम र नियमावलीअनुसार नभई शक्ति प्रयोग गरेर चलाउन खोजिएको बताएका छन्। उनले लेखेका छन्, ‘नियम र नियमावलीबाट होइन, शक्ति प्रयोग गरेर सभा चलाउन खोजेपछि त्यसको प्रतिवादमा उत्रिन बाध्य भएको हो। अझै यस्तै गरिए यस्तै प्रतिवाद हुनेछ।’
राईले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव दर्ता गर्न पर्याप्त समय नदिइएको भन्दै असन्तुष्टि देखाएका छन्। उनले विगतका आठवटै बजेट अधिवेशनमा सांसदलाई संशोधन प्रस्ताव दर्ता गर्न ७२ घण्टाको समय दिएको बताउँदै कोरोना महामारी र लकडाउनको समयमा समेत उक्त समय नघटाइएको तर अहिले कुनै आपत् वा विशेष परिस्थिति नभएको अवस्थामा पनि संशोधन दर्ताको समय कटौती गरिएको भन्दै असन्तुष्ट व्यक्त गरेका हुन्।
उनले प्रमुख प्रतिपक्षी दलका नेता र पूर्वमुख्यमन्त्रीलाई बोल्न समयसीमा तोकिएको विषयमा आपत्ति जनाउँदै संघीय संसद तथा प्रदेशसभामा पूर्वप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेतालाई समयसीमा नलगाउने परम्परा भएको बताएका छन्।
राईले गत बजेट अधिवेशनमा समयसीमा नलगाउने विषयमा सबै दलबीच लिखित सहमति भएको भन्दै यसपटक त्यसलाई उल्लंघन गरिएको बताएका हुन्।
प्रकाशित: १४ जेष्ठ २०८३ १३:४१ बिहीबार