राजनीति

बालेन जीलाई फोटोमा र टाढाबाट मात्र देखेको छु, दई शब्द कुरा गर्न पाएको छैन: माधव नेपाल

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री बालेन शाहसँग आफूले लामो समयदेखि संवाद गर्न नपाएको बताएका छन्। प्रधानमन्त्री नियुक्त हुँदा बधाई दिएपछि अहिलेसम्म उनीसँग दुई शब्द पनि कुराकानी हुन नसकेको नेपालको भनाइ छ।

बुधबार नागरिक न्युजकाे डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री नेपालले प्रधानमन्त्री बालेन शाह र प्रमुख राजनीतिक दलहरूबीच संवादहीनताको अवस्था रहेको सुनाए।

‘अहिलेका प्रधानमन्त्रीजीका आफ्नै राम्रा पक्ष र विशेषताहरू होलान्,’ नेपालले भने, ‘तर मसँग उहाँको कुनै सम्बन्ध र सहकार्य हुन सकेको छैन। प्रधानमन्त्री नियुक्त भएपछि शपथग्रहण कार्यक्रममा बधाई दिएको बाहेक मैले अहिलेसम्म उहाँसँग दुई शब्द पनि कुरा गर्न पाएको छैन। फोटोमा र टाढाबाट मात्र देखेको छु।’

प्रधानमन्त्री बालेन शाहले संसद् र राजनीतिक दलहरूलाई उपेक्षा गरेको भन्दै पूर्वप्रधानमन्त्री नेपालले असन्तुष्टि व्यक्त गरे। जनप्रतिनिधिसँग भाग्ने वा संसद्लाई बेवास्ता गर्ने कार्यशैली लोकतान्त्रिक व्यवस्था सुहाउँदो नभएको उनको टिप्पणी छ।

‘संसद्‌मा प्रधानमन्त्री आउनैपर्छ, सांसदहरूको प्रश्नको सामना गर्नैपर्छ,’ नेपालले भने, ‘निर्दलीय पञ्चायत वा राणा शासनको निरंकुशतामा त आफ्ना ‘एसम्यान’ हरूको भेला बोलाएर कुरा सुनिन्थ्यो भने अहिलेको लोकतन्त्रमा संसद् र दलहरूलाई कसरी बेवास्ता गर्न मिल्छ ? हिटलरको जस्तो शासन चलाउने सोच हो भने त मेरो भन्नु केही छैन, नत्र जनताबाट निर्वाचित जनप्रतिनिधिहरूसँग प्रधानमन्त्री निरन्तर संवादमा रहनुपर्छ।’

प्रधानमन्त्री बालेन शाहलाई आफ्नो कार्यशैली र स्वभावमा सुधार ल्याउन सुझाव दिँदै नेपालले विधि र प्रक्रियाको पालना गर्नुपर्नेमा जोड दिए।

‘मान्छेको स्वभावले पनि कहिलेकाहीं अप्ठ्यारोमा पार्छ, त्यो स्वभाव सुधार्नुपर्छ,’ उनले भने, ‘जिम्मेवारीमा पुगिसकेपछि सिक्ने चाहना, अरूको राम्रो कुराको प्रशंसा गर्ने बानी र सबैलाई समेटेर लैजाने विनम्रता चाहिन्छ। कार्यशैली स्वभावमा भर पर्ने भए पनि लोकतन्त्रमा विधि र प्रक्रियालाई कसैले पनि कुल्चन पाउँदैन।’

प्रकाशित: ७ आश्विन २०८३ २०:०८ बुधबार