स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले जेनजी आन्दोलनका क्रममा युवाहरूले गरेको बलिदानलाई तस्बिर र सम्झनामा मात्र सीमित गर्न नहुने बताएकी छन्।
जेनजी आन्दोलनको पहिलो वार्षिकोत्सवका अवसरमा सन्देश दिँदै मन्त्री मेहताले एक वर्षअघि एउटा सिङ्गो पुस्ता देशको भविष्यका लागि सडकमा उभिएर इतिहास रचेको स्मरण गरेकी छन्।
उनले आफू र वर्तमान सरकार आज जुन स्थानमा रहेको छ, त्यो जेनजी युवाहरूको रगत, पसिना र बलिदानको जगमा उभिएको यथार्थ आफूले कहिल्यै नबिर्सिएको बताएकी छन्।
'आज म र हाम्रो सरकार जुन ठाउँमा छौँ, त्यो उहाँहरूकै रगत, पसिना र बलिदानको जगमा उभिएको छ भन्ने यथार्थ मैले एक पल पनि बिर्सिएको छैन,' उनले भनिन्।
‘जेनजी शहीद दिवस’का अवसरमा प्राण अर्पण गर्ने सम्पूर्ण युवाहरूप्रति नतमस्तक हुँदै श्रद्धाञ्जली व्यक्त गर्दै उनले आन्दोलनमा घाइते भएका युवाहरू तथा शहीद परिवारजनप्रति गहिरो सम्मान र ऐक्यबद्धता प्रकट गरेकी छन्।
मन्त्री मेहताले जेनजी युवाहरूको बलिदानले देखाएको न्यायपूर्ण नेपालको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
'उहाँहरूको बलिदान तस्बिर र सम्झनामा मात्र सीमित हुनु हुँदैन। तपाईंहरूको बलिदान कहिल्यै खेर जान दिने छैनौँ। तपाईंहरूले देखेको न्यायपूर्ण नेपालको सपनालाई अधुरो छोड्ने छैनौँ,' उनले भनेकी छन्।
उनले ज्ञात-अज्ञात सम्पूर्ण जेनजी सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेकी छन्।
प्रकाशित: २३ भाद्र २०८३ ०९:४२ मंगलबार