राजनीति

पार्टीलाई विधि र पद्धतिमा हिँडाउन नेतृत्वमा दाबी गरेको हुँ: ईश्वर पोखरेल

फाइल।

नेकपा एमालेको अध्यक्ष पदका उम्मेदवार ईश्वर पोखरेलले पार्टीलाई विधि, पद्धति र सामूहिक नेतृत्वको जगमा अगाडि बढाउन आफूले नेतृत्वमा दाबी गरेको बताएका छन्।

सोमबार भृकुटीमण्डपस्थित महाधिवेशन स्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पोखरेलले पार्टीलाई थप राम्रो र व्यवस्थित बनाउने उद्देश्यसहित आफू चुनावी मैदानमा उत्रिएको स्पष्ट पारे।

उनले एमालेको आन्तरिक जीवनमा प्रतिस्पर्धा हुनु नौलो कुरा नभएको भन्दै यसलाई स्वभाविक प्रक्रियाका रूपमा लिनुपर्ने बताए।

‘हिजो भूमिगत कालमा पनि पार्टीभित्र प्रतिस्पर्धा हुन्थ्यो। अहिले जनताको बहुदलीय जनवाद (जबज) को खुल्ला परिवेशमा आन्तरिक प्रतिस्पर्धा हुनु अनौठो होइन,’ पोखरेलले भने, ‘पार्टीलाई सामूहिक नेतृत्व, विधि र पद्धति अन्तर्गत ठीक ढंगले चलाउने उद्देश्य सहित मैले मेरो उम्मेदवारी दिएको हुँ।’

उनले पार्टीलाई समयसापेक्ष बनाउन विचार, संगठन र नेतृत्व तिनै तहमा पुनर्गठन आवश्यक रहेको औंल्याए।

महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गर्दै उनले भने, ‘अहिले पार्टीको विचार, संगठन, नेतृत्व र कार्यसम्पादन शैलीलाई पुनर्व्यवस्थित र अपडेटेड गर्नुपर्ने आवश्यकता छ।’

पोखरेलले आफ्नो उम्मेदवारीले पार्टीलाई थप बलियो र एकताबद्ध बनाउन मद्दत पुग्ने विश्वास समेत व्यक्त गरे।

प्रकाशित: २९ मंसिर २०८२ १४:३३ सोमबार