राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राजनीतिमा व्यक्तिगत लाभभन्दा देश र जनताको अपेक्षालाई प्राथमिकता दिनुपर्ने बताएका छन्। उनले राजनीतिमा प्रतिबद्धता, आँट, साहस र इमान्दारिता आवश्यक रहेको बताए।
‘नीति, संगठन र नेतृत्व’ कार्यक्रमको पहिलो श्रृङ्खलामा बोल्दै लामिछानेले आफूलाई प्रधानमन्त्री बन्ने अवसर आउँदा पनि देशमा भइरहेको राजनीतिक परिवर्तन र जनताको अपेक्षालाई ध्यानमा राखेर त्यसलाई अस्वीकार गरेको बताए।
उनले २१ सिटको दलको नेताका रूपमा प्रधानमन्त्री बन्ने प्रस्ताव आएको भन्दै आफू प्रधानमन्त्री बने पनि दुई–चार वा छ महिनामात्र पदमा रहने र अन्ततः सिंहदरबारमा तस्वीर टाँसिनुबाहेक ठूलो उपलब्धि नहुने निष्कर्षमा पुगेको बताए।
‘यत्रो आन्दोलन, यत्रो आशा, यत्रो भरोसा कहाँ जान्छ? म भइहालेँ भने पनि दुई महिना, चार महिना, छ महिनाको प्रधानमन्त्री बन्थेँ होला। धेरै नै धेरै भए सिंहदरबारमा एउटा तस्वीरसम्म टाँसिन्थ्यो होला,’ उनले भने।
तर देशले परिवर्तन र नयाँ नेतृत्व खोजिरहेको अवस्थामा आफूलाई प्रधानमन्त्री बन्ने अधिकार नभएको उनको भनाइ छ । ‘देशले यत्रो आन्दोलन कुरेर बसेको थियो, देशले यत्रो परिवर्तन कुरेको थियो, देशले यस्ता होनहार मान्छे कुरेको थियो। मसँग त्यो अधिकार थिएन,’ उनले भने।
उनले आफूले ‘हाँसी हाँसी किस्तीमा आएको प्रधानमन्त्री पदलाई हासी–हासी नमस्कार’ गरेको बताउँदै त्यसलाई आफू त्यागी भएको देखाउने प्रयासका रूपमा नलिन आग्रह गरे।
‘यति भनेकै भरमा मैले ठूलो त्यागीको उपाधि पाउँछु भन्ने लोभले भनेको होइन। यति प्रतिबद्धता चाहिँ चाहिन्छ भन्न खोजेको हुँ,’ उनले भने।
लामिछानेले पार्टीका नेता–कार्यकर्ताको योग्यता, क्षमता र अनुभवलाई आफूले चुनौती दिन नसक्ने बताउँदै राजनीतिमा जिम्मेवारीसँगै प्रतिबद्धता, आँट, साहस र हिम्मत आवश्यक पर्ने बताए। आगामी निर्वाचनमा पार्टीका केही नेता–कार्यकर्ताले टिकट नपाएमा आफूविरुद्ध सामाजिक सञ्जालमा आक्रोश पोख्न सक्ने भन्दै उनले त्यसलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए ।
‘भोलि आउने चुनावमा यही हलमा भएका कयौँ साथीहरूले कुनै कारणले टिकट पाउनु भएन भने सबैभन्दा पहिला मलाई फेसबुकमा गाली गरेर निस्किने पनि हुनुहुन्छ होला,’ उनले भने।
तर व्यक्तिगत स्वार्थका कारण देशको राजनीति प्रयोग हुने अवस्था आउन नहुने बताए । ‘जसो तसो राजनीति त हाम्रो पोल्टामा आइपुग्यो। त्यसको अर्थ हाम्रो व्यक्तिगत लाभमा देशको राजनीति प्रयोग नहोस्,’ लामिछानेले भने।
प्रकाशित: ७ भाद्र २०८३ १८:१४ आइतबार