राजनीति

बाटोमा भेट्नासाथ माइक तेर्स्याएर ठाडो प्रश्न सोध्ने पत्रकारिता मलाई मन पर्दैन: माधव नेपाल

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बाटोघाटोमा अचानक माइक तेर्स्याएर ठाडो प्रश्न सोध्ने पत्रकारिताको शैली आफूलाई पटक्कै मन नपर्ने बताएका छन्।

पछिल्लो समय मिडियामा कम देखिनुको कारण खुलाउँदै उनले उत्तेजक र मानमर्दन गर्ने प्रवृत्तिका कारण आफूले सञ्चारमाध्यमसँग केही दूरी बनाएको सुनाए।

नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग बुधबार ‘नागरिक फ्रन्टलाइन’ संवादमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले पत्रकारिता शिष्ट, संस्कारयुक्त र सकारात्मक हुनुपर्नेमा जोड दिए।

‘मलाई मिडियामा दुईवटा कुरा चित्त बुझ्दैन,’ नेपालले भने, ‘पहिलो त बाटोघाटोमा भेट हुनासाथ के छ भनेर माइक तेर्स्याइहाल्ने र ठाडो-ठाडो प्रश्न सोध्ने गरिन्छ। त्यो मलाई मन पर्दैन। त्यसरी हिँड्दाहिँड्दै जथाभाबी प्रश्न गर्ने शैली उपयुक्त होइन।’

साथै उनले अन्तर्वार्ताका नाममा अनावश्यक उत्तेजना फैलाउने र नेताहरूको हुर्मत लिने प्रवृत्तिप्रति पनि आपत्ति जनाए।

‘म अन्तर्वार्तामा पनि शिष्ट, संस्कारयुक्त र सकारात्मक संवादको पक्षमा हुन्छु,’ उनले थपे, ‘नकारात्मक, अनावश्यक रूपमा प्रोभोकेटिभ र मानमर्दन गर्ने खालका कुरालाई म ठ्याम्मै मन पराउँदिन। कसैलाई होच्याउने उद्देश्यले गरिने पत्रकारिता सही होइन।’

त्यस्ता पत्रकारहरूसँगको संवाद नै अन्तिम बन्ने चेतावनी दिँदै उनले भने, ‘यदि कसैले नियोजित रूपमा त्यस्तो उत्तेजक र अपमानजनक व्यवहार गर्न थाल्यो भने मसँगको उसको त्यो नै अन्तिम भेट वा अन्तर्वार्ता जस्तो भइदिन्छ।’

पछिल्लो समय सार्वजनिक कार्यक्रम तथा सञ्चारमाध्यममा आफ्नो उपस्थिति पातलो हुनुको पछाडि यस्ता विकृतिहरूबाट जोगिने प्रयास पनि एक कारण रहेको पूर्वप्रधानमन्त्री नेपालले खुलाए।

प्रकाशित: ८ आश्विन २०८३ १९:३० बिहीबार