राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो लामो राजनीतिक जीवनमा एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको दाबी गर्दै यसका लागि जुनसुकै मन्दिरमा गएर कसम खान तयार रहेको बताएका छन्।
मंगलबार पार्टी एकीकरण कार्यक्रममा बोल्दै लिङ्देनले अन्य दलहरूले भ्रष्टाचारीलाई संरक्षण गरिरहँदा राप्रपाले भने भ्रष्टाचारीलाई नांगेझार पारेको बताए।
‘म आज पनि भन्छु, यतिको लामो राजनीतिक जीवनयात्रामा एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन भनेर जुनसुकै मन्दिरमा छिर्न सक्ने तागत राख्ने मान्छेले नेतृत्व गरेको पार्टी राप्रपा हो,’ लिङ्देनले भने।
उनले देशमा भ्रष्टाचार विकराल समस्याका रूपमा रहेको भन्दै ठुला दलहरू यसको अन्त्य गर्न असफल भएको आरोप लगाए।
राप्रपाले मात्र भ्रष्टाचारका फाइल खोल्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन आँट गरेको उनको जिकिर थियो।
प्रकाशित: २९ पुस २०८२ १७:४५ मंगलबार