राजनीति

साइबर ब्युरोले खोजेपछि विदेशबाट फर्किएँ, सरकारले प्रतिशोध साँध्यो: सहमहामन्त्री शिवाकोटी

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले नेपाल प्रहरीको साइबर ब्युरोले आफूलाई खोजेपछि विदेश भ्रमण छोट्याएर काठमाडौं फर्किएको बताएका छन्।

बिहीबार पार्टीको केन्द्रीय पदाधिकारी बैठकमा सहभागी हुन पुगेका शिवाकोटीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारले आफू र पार्टी नेतृत्वविरुद्ध राज्य संयन्त्र दुरुपयोग गरेर प्रतिशोध साँध्न खोजेको आरोप लगाए।

केही दिनदेखि देशबाहिर रहेका बेला एक साथीमार्फत साइबर ब्युरोका अधिकारीहरूले आफ्नो खोजी गरेको सूचना पाएको उनले बताए।

‘म केही दिनका लागि नेपालबाहिर थिएँ, ब्युरोका अधिकारीहरूले मेरो खोजी गरेको र सम्पर्कका लागि बोलाएको जानकारी साथीमार्फत पाएँ,’ शिवाकोटीले भने, ‘त्यसपछि मलाई यसरी खोजिरहनु पर्दैन, म आफैँ काठमाडौं आउँछु भनेर दिउँसोको तालिका भए पनि हतारिएर मध्याह्न १२ बजे नै आइपुगेको हुँ।’

सामाजिक सञ्जालमा पछिल्लो राजनीतिक घटनाक्रमबारे आफूले राखेका विचार र टिप्पणीलाई लिएर सरकार निकट व्यक्तिहरूको उजुरीका आधारमा आफूलाई पक्राउ गराउने प्रयास गरिएको उनको दाबी छ।

कांग्रेसको १५औं महाधिवेशनपछि जनमत पार्टीको पक्षमा बन्दै गएको देखेर आत्तिएको सरकारले नेतृत्वलाई बदनाम गर्न योजनाबद्ध षड्यन्त्र रचिरहेको उनले आरोप लगाए।

पत्रकारले पार्टी सभापतिलाई निगरानीमा राखिएको चर्चाबारे सोधेको प्रश्नमा सहमहामन्त्री शिवाकोटीले निगरानी कांग्रेस नेतृत्वलाई नभई प्रधानमन्त्रीका मुख्य सल्लाहकारलाई गर्नुपर्ने बताए।

‘कानुनले काम गर्ने हो भने यतिखेर निगरानी प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई गर्नुपर्थ्यो,’ उनले भने, ‘बाहिर षड्यन्त्रपूर्वक प्लट तयार पारेर अडियो संवाद रेकर्ड गराउने र कांग्रेस नेतृत्वविरुद्ध प्रोपोगान्डा फैलाउनेहरूलाई कानुनी दायरामा ल्याउनुपर्नेमा सरकार उल्टो बाटो हिँडेको छ।’

सरकारले अहिले ‘मेरो समर्थन गर, असहमत भए बोल्न पाउँदैनौ’ भन्ने सर्वसत्तावादी शैली अपनाएको उनको टिप्पणी छ। सामाजिक सञ्जाल र मिडियामा बोल्ने तथा सरकारलाई खबरदारी गर्ने जो कोहीलाई शत्रुवत् व्यवहार गरिएको भन्दै उनले सरकारका पछिल्ला कदम लोकतन्त्र र प्रेस स्वतन्त्रताविरोधी भएको ठहर गरे।

पार्टीका नेता-कार्यकर्तामाथि भइरहेको यस्तो धरपकड र घेराबन्दीविरुद्ध कांग्रेसले कानुनी र राजनीतिक दुवै मोर्चाबाट सशक्त प्रतिवाद गर्ने शिवाकोटीले सुनाए। यसबारे पार्टी पदाधिकारी बैठकमा छलफल भइरहेको र आवश्यक रणनीति तय गरिने उनले जानकारी दिए।

प्रकाशित: १९ कार्तिक २०८३ २०:४६ बिहीबार