राजनीति

हर्क साम्पाङलाई नेता मानेर दोस्रो बन्न आएको हुँ, पहिलो हुने महत्त्वाकांक्षा छैन: सुदन किराती

श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले आफू हर्क साम्पाङलाई पार्टी अध्यक्ष तथा नेता स्वीकारेर दोस्रो भूमिकामा काम गर्न आएको बताएका छन्।

इलाम नगरपालिका-५ बरबोटेमा आयोजित पार्टीको जनहातेमालो कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूमा पार्टीको पहिलो व्यक्ति बन्ने कुनै चाहना नरहेको सुनाए।

पार्टीभित्र कसैले विभाजन ल्याउन खोजे त्यो सम्भव नहुने भन्दै उनले इतिहासमा दोस्रो व्यक्तिको भूमिका सधैँ महत्त्वपूर्ण रहने उदाहरण दिए।

आनन्द नभएको भए बुद्धलाई, प्लेटो नभएको भए सुकरातलाई र एङ्गेल्स नभएको भए कार्ल मार्क्सलाई चिन्न नसकिने उल्लेख गर्दै उनले पार्टी निर्माणमा आफ्नो भूमिका सहयोगी र इमानदार रहने दाबी गरे।

सम्बोधनका क्रममा नेता किरातीले पुरानो राजनीतिक नेतृत्वको अहंकार र झगडाकै कारण देश अस्थिर बनेको स्मरण गराए।

प्रचण्ड र ओलीको टकरावले दुईतिहाइको सरकार ढलेको तथा कांग्रेसभित्र देउवा र गगनको विवादले समस्या निम्तिएको भन्दै उनले श्रम संस्कृति पार्टीमा त्यस्तो गल्ती दोहोरिन नदिने बताए।

यसैगरी, उनले भारतको गयाका दशरथ माझीले पत्नीको सम्झनामा एक्लै २२ वर्ष लगाएर पहाड काटेर बाटो बनाएको प्रसंग जोड्दै पार्टीका नेता-कार्यकर्तामा पनि त्यस्तै अठोट, साहस र मेहनत आवश्यक रहेको बताए। उनले जीवन रहेसम्म यही पार्टीको माध्यमबाट जनता र देशको निःस्वार्थ सेवा गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा नेता किरातीले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति बोल्दै जनताले देशकै चाबी सुम्पे पनि सरकार प्रभावकारी रूपमा चल्न नसकेको आरोप लगाए।

जनताले चुनेको ड्राइभरले ट्राफिक लाइट नहेर्ने, अर्काको लेन मिच्ने र नियम कानुन उल्लंघन गर्ने एम्बुलेन्स चलाएजस्तो शैली देखाउन नहुने उनको टिप्पणी थियो।

आगामी निर्वाचनमा श्रम संस्कृति पार्टीले नै देशको नेतृत्व लिनुपर्ने भन्दै उनले सरकार जनताको शासक नभई सेवक हो भन्ने कुरा व्यवहारबाट प्रमाणित गर्नुपर्ने बताए।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी आएका दर्जनौं कार्यकर्तालाई नेता किरातीले श्रम संस्कृति पार्टीमा स्वागत गरेका थिए।

प्रकाशित: ९ भाद्र २०८३ १७:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App