राजनीति

जेन-जीलाई पार्टीमा भित्र्याउँदै दाहालले भने- अब नेतृत्व तपाईंहरूलाई सुम्पिन्छौं

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नयाँ पुस्ताको आन्दोलन र भावनालाई आत्मसात गर्दै अबको पार्टी नेतृत्व युवाहरूलाई सुम्पिने उद्घोष गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित ‘जेन-जी सँग नेपाली कम्युनिस्ट पार्टी’ कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले आफ्नो विगत र युवाहरूको वर्तमानलाई जोडेर सो अभिव्यक्ति दिएका हुन्।

कार्यक्रममा बोल्दै दाहालले गत भदौ २३ र २४ गते युवाहरूले गरेको आन्दोलनको खुलेर प्रशंसा गरे। उनले युवाहरूको सो आन्दोलनले देश र दुनियाँमा रहेका नेपालीहरूलाई झकझक्याएको बताए।

दाहालले भने, ‘तपाईंहरूले उठाएका माग सही थिए। सरकारले बल प्रयोग गर्नु हुँदैन भनेर मैले त्यतिबेला पनि भनेको थिएँ। विगतका गल्ती कमजोरी सच्याउँदै युवाहरूको ‘स्पिरिट’ अनुसार अघि बढ्न हामी तयार छौं।’

उनले युवाहरूको त्यो विद्रोहले पार्टीलाई आत्मसमीक्षा गर्न र नयाँ ढंगले सोच्न बाध्य बनाएको स्वीकार गरे।

हलमा उपस्थित करिब १ हजार युवाहरूलाई देख्दा आफूलाई विगतको याद आएको बताउँदै दाहाल भावुक बने। उनले आफ्नो राजनीतिक यात्रा स्मरण गर्दै भने, ‘तपाईंहरूलाई स्वागत गर्दा म मेरो विगत सम्झिरहेको छु। १६ वर्षको उमेरमा म कसरी राजनीतिमा होमिएँ ? ३५ वर्षको उमेरमा म कसरी पार्टीको प्रमुख नेता भएँ ? र कसरी जनयुद्धको तयारी गरेँ ?’

उनले आफूले युवा अवस्थामा देखेको गणतन्त्र र संघीयताको सपना पूरा भएको बताउँदै अबको नयाँ सपना पूरा गर्ने जिम्मा ‘जेनेरेसन जेड’ को काँधमा आएको बताए।

‘त्यतिबेला हामीले सामन्ती उत्पीडन अन्त्य गर्ने सपना देख्यौं, अब समृद्ध नेपाल निर्माण गर्ने नयाँ सपना र संकल्प लिने पालो तपाईंहरूको हो,’ उनले थपे।

दाहालले युवाहरूलाई पार्टीको निर्णायक तहमा आउन आह्वान गरे। उनले पार्टीका विभिन्न कमिटीहरूमा युवाहरूको सहभागिता सुनिश्चित गर्ने र नेतृत्व हस्तान्तरण गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे।

‘अब हामी एउटा नयाँ सपना देख्दैछौं र त्यो पूरा गर्ने जिम्मेवारी तपाईंहरूलाई सुम्पिन चाहन्छु,’ दाहालले भने, ‘यो देश बनाउने र नयाँ नेपालको संकल्प पूरा गर्ने मुख्य जिम्मेवारी अब तपाईंहरूको हो।’

उक्त कार्यक्रममार्फत विभिन्न पृष्ठभूमिबाट आएका सयौं ‘जेनजी' युवाहरू नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका थिए।

संयोजक दाहालले नवप्रवेशीहरूलाई खादा लगाएर स्वागत गर्दै ‘लाल सलाम’ अर्पण गरे।

प्रकाशित: ६ मंसिर २०८२ १५:०० शनिबार