राजनीति

पार्टी एकता हुन्छ भने महामन्त्री पद छाड्न तयार छु : प्रदीप पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र एकता कायम हुने भए आफू महामन्त्री पद छाड्न तयार रहेको बताएका छन्। उनले पार्टीको एकताभन्दा पद ठूलो नभएको सन्देश दिँदै वरिष्ठ नेताहरूलाई सम्मानजनक स्थान दिनुपर्ने बताएका छन्।

शनिबार काठमाडौं महानगरपालिका–२६ कांग्रेस कार्यसमितिको सम्मान कार्यक्रममा पौडेलले सभापति पार्टीको संस्था भएकाले सभापतिभन्दा माथि कोही हुन नसक्ने बताए। वरिष्ठ नेताहरूको योगदान आफूभन्दा धेरै रहेको भन्दै उनीहरूलाई सम्मान गर्नुपर्ने उनको भनाइ थियो।

‘पार्टी मिल्छ भने म महामन्त्री अहिले छाड्न तयार छु’ भन्दै पौडेलले पार्टीभित्रको एकताका लागि पद त्याग्नसमेत तयार रहेको बताए। वरिष्ठ नेताहरूलाई आफूभन्दा माथि राख्न तयार रहेको उनको भनाइ थियो।

पौडेलले पछिल्लो राजनीतिक घटनाक्रमप्रति टिप्पणी गर्दै आन्दोलन र हिंसाबाट सत्तामा पुग्ने प्रवृत्तिले मुलुकलाई थप संकटमा धकेल्ने बताए। उनले विगतमा सिंहदरबारमा आगजनी गर्नेहरूकै हातमा अहिले सत्ता पुगेको दाबी गर्दै हिंसाबाट सत्ता हासिल गर्नेहरूले त्यसलाई नियन्त्रण गर्न सक्ने कि नसक्ने प्रश्न गरे।

आगजनी र हिंसाबाट राजनीतिक परिवर्तन खोज्ने प्रवृत्तिले देशमा समस्या समाधान नगर्ने भन्दै पौडेलले विगतका गल्ती दोहोर्याउन नहुने बताए। उनका अनुसार देशमा आगो लगाउने प्रवृत्तिलाई प्रोत्साहन गर्नुको सट्टा राजनीतिक समस्याको समाधान लोकतान्त्रिक प्रक्रियाबाट खोजिनुपर्छ।

उनले अतिवादलाई परास्त गर्ने सबैभन्दा प्रभावकारी माध्यम निर्वाचन भएको बताए। सिंहदरबारमा आगजनी नभएको भए पनि निर्वाचन हुने र त्यसबाट जनताले पुराना राजनीतिक दललाई दण्डित गर्न सक्ने अवस्था रहेको उनले उल्लेख गरे।

परिवर्तनका नाममा पुरानै गल्ती दोहोर्याउँदा मुलुक थप संकटमा जाने भन्दै पौडेलले निर्वाचनमार्फत जनताको निर्णय स्वीकार गर्नुपर्ने बताए।

पौडेलले नेपाली कांग्रेस देशमा सबैभन्दा धेरै सदस्य भएको पार्टी रहेको दाबी गर्दै ती सदस्यलाई डिजिटल माध्यमबाट जोड्ने तयारी भइरहेको बताए। कांग्रेसले अब पार्टीभित्र प्राथमिक निर्वाचन अर्थात् ‘प्राइमरी’को अभ्यास अघि बढाउने तयारी गरेको उनको भनाइ छ।

उनका अनुसार वडा अध्यक्षको उम्मेदवार चयनमा सम्बन्धित वडाका क्रियाशील सदस्यले मतदान गर्न पाउने व्यवस्था गरिनेछ। यस्तो मतदान डिजिटल माध्यमबाट समेत गर्न सकिने गरी पार्टीले तयारी गरिरहेको उनले बताए।

प्रकाशित: २३ श्रावण २०८३ १९:२२ शनिबार