राजनीति

पार्टी एकताका लागि नरम, कमजोरी हटाउन निर्मम बन्छु: गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू जस्तोसुकै लचकता अपनाउन तयार रहेको बताएका छन्। तर, पार्टीभित्रका आन्तरिक कमी-कमजोरी सच्याउन भने आफू उत्तिकै निर्मम भएर प्रस्तुत हुने उनको प्रस्टोक्ति छ।

नेपाली कांग्रेस स्याङ्जाले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री स्वर्गीय गोपालमान श्रेष्ठको ४५औं दिनको पुण्यतिथिमा बिहीबार आयोजना गरेको शोकसभालाई सम्बोधन गर्दै सभापति थापाले सो धारणा राखेका हुन्।

पार्टीलाई एकढिक्का र मजबुत बनाउन नेतृत्वको हैसियतले आफू पूर्ण जिम्मेवारीका साथ अघि बढ्ने उनले बताए।

‘पार्टीलाई एकताबद्ध गर्न म नरम हुन तयार छु र छु पनि,’ सभापति थापाले भने, ‘तर पार्टीभित्रका कमी-कमजोरी हटाउन निर्मम पनि हुनुपर्नेछ। त्यो सहज छैन, तैपनि पार्टी हितका लागि म निर्मम भएरै लाग्छु।’

मुलुकमा आइपरेका हरेक जटिल मोडमा कांग्रेसले जिम्मेवार भएर निकास दिएको स्मरण गर्दै उनले वर्तमान संकटमा पनि नागरिकमाझ विश्वास र भरोसा जगाउने दाबी गरे। फरक प्रसङ्गमा उनले विपद्को यस संवेदनशील समय सरकारको आलोचना वा राजनीतिक टिप्पणी गर्ने उपयुक्त घडी नभएको समेत सुनाए।

कार्यक्रममा सभापति थापाले स्वर्गीय श्रेष्ठले पार्टी संगठन निर्माणमा पुर्‍याएको योगदानको स्मरण गरेका थिए। शोकसभामा पार्टीका महामन्त्री प्रदीप पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे तथा कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मालगायतका नेताहरूले स्वर्गीय श्रेष्ठको राजनीतिक निष्ठा र भूमिकाको चर्चा गरेका थिए।

प्रकाशित: २५ भाद्र २०८३ १५:११ बिहीबार