राजनीति

‘म प्रो-कोइराला हुँ, युवाको भावना बुझ्नेलाई सभापतिमा सघाउँछु’

नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले पार्टीको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।

शनिबार सानेपामा पत्रकार सम्मेलन गर्दै उनले कांग्रेस विभाजन नभएको जिकिरसहित नेतृत्वमा पुगेपछि पार्टीको आन्तरिक विवाद मिलाउने उद्घोष गरेका हुन्।

आफूलाई बीपी कोइरालाको अनुयायी र गिरिजाप्रसाद कोइरालाको कार्यकर्ता बताउने नेता डा. शर्माले आफू ‘प्रो-कोइराला’ भएको दाबी गरे। पार्टीको खस्कँदो छवि र विरासत जोगाउन आफ्नो उम्मेदवारी रहेको उनले सुनाए।

‘कांग्रेस फुटेको छैन, लोकतान्त्रिक पार्टीमा अलिअलि झमेला र झैझगडा भइरहन्छ,’ शर्माले भने, ‘यसलाई मिलाउने कर्तव्य हाम्रो हो। महामन्त्री भएपछि मेरो पहिलो काम पार्टी मिलाउनेमै हुन्छ।’

कोइराला परिवारले नै कांग्रेसको स्थापना गरेको भन्दै उनले मोरङमा बस्ने भएकाले आफू स्वाभाविक रूपमा कोइराला विचारसँग नजिक रहेको बताए।

व्यक्तिभन्दा पनि बीपी, गिरिजाबाबु, किसुनजी र गणेशमानजीको विचार बोकेर हिँड्ने हजारौं कार्यकर्ताको प्रतिनिधित्व आफूले गर्ने उनको भनाइ छ।

सभापति पदमा कसलाई समर्थन गर्ने भन्ने विषयमा भने नेता डा. शर्माले अहिले नै स्पष्ट पारेनन्। हालसम्म कसैले सभापतिमा उम्मेदवारी घोषणा गरिनसकेको भन्दै उनले समय आएपछि निर्णय लिने बताए।

उनले अगाडि भने, ‘सभापतिको उम्मेदवारी घोषणा भइसकेपछि युवाहरूको विचार र गत वर्षको जेनजी मुभमेन्टको सेन्टिमेन्टलाई क्यारी गर्न सक्ने तथा लोकतन्त्रलाई बचाउन सक्ने युवा उम्मेदवारलाई मेरो समर्थन रहन्छ।’

उम्मेदवारी नै घोषणा नभई अहिले नै फलानोलाई सघाउँछु भन्नु हतारो हुने उनले तर्क गरे।

प्रकाशित: १७ आश्विन २०८३ १६:०७ शनिबार