राजनीति

म मन्त्रीको दौडमा छैन, तर जिम्मेवारी पाए भाग्दिनँ: राजीव खत्री

भक्तपुर क्षेत्र नम्बर-२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले आफू मन्त्री बन्ने दौडमा नरहेको बताएका छन्।

शनिबार नेपाल प्रेस सोसाइटी सूर्यविनायकले भक्तपुरमा आयोजना गरेको नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन्।

आफू देशका लागि काम गर्न राजनीतिमा आएको बताउँदै खत्रीले मन्त्री पदका लागि अरुजस्तै लाइनमा नलाग्ने बताए। उनले मन्त्री सिफारिसका लागि आफूले कसैसँग संवाद नगरेको पनि सुनाए।

यद्यपि, पार्टीले जिम्मेवारी दिएको खण्डमा भने कामबाट नभाग्ने उनले बताएका छन्।

उक्त कार्यक्रममा भक्तपुरबाट निर्वाचित अन्य सांसदहरूले जिल्लाका साझा समस्या समाधान गर्न एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

नवनिर्वाचित सांसदहरू रुकेश रञ्जित, कुसुम महर्जन, मदनकृष्ण श्रेष्ठ र डा. गङ्गालक्ष्मी अवालले विकास, सुशासन र जनताका आधारभूत आवश्यकतामा केन्द्रित भएर काम गर्ने बताए।

यसैगरी, विगत दुई दशकदेखि भ्रष्टाचारविरुद्ध सामाजिक अभियान चलाउँदै आएको हेम सरिता पाठक फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठकले नवनिर्वाचित सांसदहरूलाई सुशासनमा कडा कदम चाल्न आग्रह गरे।

उनले सांसदहरूले अब भ्रष्टाचार नगर्ने प्रतिज्ञा गर्नुपर्ने र विगतका भ्रष्टाचारका घटनाको छानबिन गर्न संसद्‌मा पहल गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

प्रकाशित: ७ चैत्र २०८२ १८:१२ शनिबार