नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको आगामी १५ औं महाधिवेशनमा सभापति पदका लागि आफू पनि इच्छुक रहेको बताएका छन्।
यद्यपि, सभापतिमा उठ्ने विषयमा पार्टीका नेता-कार्यकर्तासँगको परामर्शपछि मात्र अन्तिम निर्णय लिने उनको भनाइ छ।
शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता कोइरालाले नेतृत्वको दौडमा आफू पछि नहट्ने सङ्केत गरे। ‘पार्टी सभापतिको लागि म पनि इच्छुक त छु, तर मैले इच्छा गरेर मात्रै हुँदैन,’ उनले भने, ‘साथीहरूको केही भनाइ छ, त्यो पहिले सुन्नुपर्यो, अनि मात्र म निर्णय गर्छु।’
नेता डा. शेखर कोइरालाको उम्मेदवारीको सम्भावनाबारे सोधिएको प्रश्नमा उनले आफूहरूबीच राम्रो समझदारी रहेको सुनाए। ‘शेखरजी र मबीच धेरै राम्रो समझदारी छ, उहाँ सभापतिमा उठ्नुभयो भने पनि ठीकै छ, म सहयोग गरिहाल्छु,’ कोइरालाले भने।
सभापतिमा दाबेदारी प्रस्तुत गरे पनि पार्टी एकता जोगाउन आफू प्रतिबद्ध रहेको उनले दोहोर्याए। नेता कोइरालाले पार्टी विभाजन वा नयाँ दल गठनको चर्चालाई भने खारेज गरे। उनले भने, ‘म पार्टी फुटाउने वा नयाँ पार्टी खोल्ने पक्षमा विल्कुलै छैन। समस्या परे छलफल गरेरै एउटा निर्णयमा पुग्छौं।’
नेता कोइरालाले मुलुकमा सैद्धान्तिक विवाद समाप्त भइसकेकाले अब बन्ने कांग्रेस विकास, संगठन र युवा केन्द्रित नयाँ दिशामा अघि बढ्नुपर्ने बताए।
प्रकाशित: ३० श्रावण २०८३ १८:०२ शनिबार