राजनीति

‘मेरो दिमागमा सधैं देश बनाउने हुटहुटी हुन्छ, काम भएन भने भित्रैबाट पोल्छ’

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्ना लागि राजकीय पदभन्दा देश निर्माणको जिम्मेवारी सधैं पहिलो प्राथमिकतामा रहेको बताएका छन्।

मुलुकको विकास र समृद्धि हुन नसक्दा आफूलाई भित्रैदेखि पीडा हुने गरेको उनको भनाइ छ।

बुधबार नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग ‘नागरिक फ्रन्टलाइन’ कार्यक्रममा कुराकानी गर्दै पूर्वप्रधानमन्त्री नेपालले आफ्नो राजनीतिक जीवनको मूल मर्म नै काम र परिणामसँग जोडिएको सुनाए।

‘मेरो निम्ति पद कहिल्यै ठूलो कुरो भएन। मेरो प्राथमिकता सधैं काम, काम र काम मात्रै रह्यो,’ नेता नेपालले भने, ‘मेरो दिमागमा जहिले पनि यो देश बनाउने हुटहुटी मात्र हुन्छ। देश बनाउने काम भएन भने मलाई भित्रैबाट पोल्छ। देश बिग्रँदा अरूलाई किन पोल्दैन, म अचम्म मान्छु।’

संसद्‌मा आफूले विगतमा बोलेको चर्चित प्रसङ्ग स्मरण गर्दै उनले भने, ‘त्यही हुटहुटी र पीडाकै कारण मैले कुनै समय संसद्को रोस्टममै उभिएर ‘म यो देशमा एउटा मानिस खोजिरहेको छु’ भन्ने गीत सुनाएको थिएँ। देश बनाउने इमानदार मान्छेको खोजी मेरो सधैंको ध्येय हो।’

व्यक्तिगत स्वार्थ, अहंकार र पदको खिचातानीमा अल्झिनुभन्दा देश र जनताको हितलाई केन्द्रमा राखेर अघि बढ्न उनले सम्पूर्ण राजनीतिक नेतृत्वलाई आग्रहसमेत गरे।

प्रकाशित: ७ आश्विन २०८३ २०:३२ बुधबार