राजनीति

हुंकार मधेशको सप्तरी जिल्ला भेला सम्पन्न

हुंकार मधेशको प्रथम सप्तरी जिल्ला भेला मंगलबार सम्पन्न भएको छ। सप्तरी उद्योग वाणिज्य संघको हलमा शैशव राजुको अध्यक्षतामा सम्पन्न भेलाले उनको नेतृत्वमा ३४ सदस्यीय जिल्ला अभियन्ता समूह गठन गरेको छ। 

भेलामा बोल्दै हुंकार मधेशका केन्द्रीय प्रवक्ता केशव कुमारले विगत ७५ वर्षमा देशमा एउटा राम्रो राजनीतिक पार्टी निर्माण हुन नसकेको बताए। राजनीतिक दलहरूले सामूहिक पहिचान र अधिकार प्राप्तिका लागि आवश्यक विचार तथा सिद्धान्त अवलम्बन गर्न नसकेको, पार्टी व्यवस्थापन र सदस्यहरूको जीवनयापनका लागि आर्थिक योजना बनाउन नसकेको उनको भनाइ थियो। 

त्यस्तै, धर्म, राजनीति र दर्शनबीचको अन्तरसम्बन्ध स्पष्ट पार्न नसकेको, लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार पार्टी सञ्चालन गर्न नसकेको तथा आजीवन अध्यक्ष बनिरहने प्रवृत्तिबाट मुक्त हुन नसकेको उनले टिप्पणी गरे। 

यस्ता कमजोरी अन्त्य गर्दै राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनको प्रत्याभूति हुने गरी काम गर्न हुंकार मधेश गठन गरिएको केन्द्रीय प्रवक्ता कुमारले बताए। 

कार्यक्रममा हुंकार मधेशका आर्थिक विभाग प्रमुख तथा केन्द्रीय अभियन्ता सच्चिदानन्दले मधेशी समुदाय आर्थिक रूपमा आत्मनिर्भर नबन्दासम्म र जातीय विभेदको समूल अन्त्य नभएसम्म मधेशको मुक्ति सम्भव नहुने बताए। 

प्रकाशित: १७ कार्तिक २०८३ १६:३२ मंगलबार