हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको पछिल्लो घटनाको सत्यतथ्य छानबिन गर्न सरकारले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को संयोजकत्वमा एक उच्चस्तरीय छानबिन टोली गठन गरेको छ।
गृह मन्त्रालयमा आइतबार बसेको आकस्मिक बैठकले उक्त टोलीलाई तत्काल कार्यक्षेत्रमा खटिन र प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो।
गृह मन्त्रालयका सचिवको संयोजकत्वमा रक्षा सचिवसहित सबै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थितिमा बसेको आकस्मिक बैठकले छानबिन टोली गठन गर्ने निर्णय गरेको हो।
घटनाको गम्भीरतालाई ध्यानमा राख्दै मन्त्रालयले हुम्ला र बाजुरा दुवै जिल्लाबाट नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको विशेष टोली यसअघि नै घटनास्थलमा परिचालन गरिसकेको जानकारी दिएको छ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेका अनुसार सीमा क्षेत्रमा नागरिकको सुरक्षा सुनिश्चित गर्न र शान्ति सुव्यवस्था थप मजबुत बनाउन जिल्ला सुरक्षा समितिलाई निरन्तर उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ।
भविष्यमा यस्ता अप्रिय घटनाहरू दोहोरिन नदिने गरी सुरक्षा रणनीति अख्तियार गर्न समेत गृहले सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ।
स्थितिलाई पूर्ण नियन्त्रणमा राख्न र दीर्घकालीन शान्ति कायम गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका तर्फबाट थप आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालन गर्न मन्त्रालयले दुवै निकायलाई आदेश दिएको छ।
विवादको स्थायी समाधान र प्रभावकारी समन्वयका लागि मन्त्रालयले जनप्रतिनिधि एवं सरोकारवाला निकायहरूसँग पटक-पटक समन्वयात्मक बैठकहरू आयोजना गरी सघन पहलकदमी अगाडि बढाएको सहसचिव काफ्लेले बताए।
सरकारले गठन गरेको छानबिन टोलीले घटनास्थलको स्थलगत अध्ययन गरी विवादको चुरो पत्ता लगाउने र आगामी दिनमा यस्ता समस्या आउन नदिन सुझावसहितको प्रतिवेदन बुझाउनेछ।
मन्त्रालयले स्थानीय प्रशासनलाई शान्ति सुरक्षामा कुनै सम्झौता नगर्न र नागरिकको सुरक्षामा विशेष ध्यान दिन समेत सचेत गराएको छ।
प्रकाशित: १० जेष्ठ २०८३ १९:०१ आइतबार