राजनीति

यस्तो छ संसदको नयाँ अंकगणित

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना बुधबार सकिएको छ।

देशभरका मतगणना केन्द्रबाट प्राप्त अन्तिम विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्वाधिक मत प्राप्त गर्दै संसदको सबैभन्दा ठूलो दल बनेको छ।

निर्वाचन आयोगका अनुसार कुल १ करोड ७ लाख ८५ हजार ८ सय ७६ सदर मतमध्ये रास्वपा एक्लैले ५१ लाख ५७ हजार १ सय ३० मत प्राप्त गरेको छ। यो कुल सदर मतको करिब ४७.९ प्रतिशत हो।

प्रत्यक्षतर्फ १८ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकमा १७ लाख ५५ हजार ८ सय ७२ मत (१६.३ प्रतिशत) प्राप्त गरेको छ। यसैगरी, प्रत्यक्षमा ९ सिट जितेको नेकपा (एमाले) ले १४ लाख ५२ हजार ७ सय ५८ मत ल्याउँदै कुल मतको १३.५ प्रतिशत हिस्सा ओगटेको छ।

प्रत्यक्षतर्फ ८ सिट जितेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले समानुपातिकमा ८ लाख ९ हजार ५ सय ७७ मत (७.५ प्रतिशत) पाएको छ।

यसै निर्वाचनबाट उदाएको धरानका पूर्वमेयर नेतृत्वको श्रम संस्कृति पार्टीले पुराना दलको विरासत भत्काउँदै समानुपातिकतर्फ ३ लाख ८५ हजार ७ सय ४१ मत (३.६ प्रतिशत) ल्याएको छ।

छोटो समयको प्रयासमै यो पार्टीले प्रत्यक्षतर्फ ३ सिट जितेको छ।

राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रत्यक्षतर्फ १ सिटमा जित हासिल गर्दा समानुपातिकमा ३ लाख ३० हजार २ सय ६८ मत (३ प्रतिशत) प्राप्त गरेको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनअनुसार समानुपातिकतर्फ सिट पाउन दलहरूले कुल सदर मतको कम्तीमा ३ प्रतिशत ‘थ्रेसहोल्ड’ पार गर्नुपर्ने कानुनी व्यवस्था छ। ३ प्रतिशतभन्दा कम मत ल्याउने दलहरू समानुपातिक सिट बाँडफाँट प्रक्रियाबाट स्वतः बाहिरिएका छन्।

यसपटक रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपा गरी ६ वटा दलले मात्र थ्रेसहोल्ड कटाएका छन्। थ्रेसहोल्ड पार गर्न नसक्दा जनता समाजवादी पार्टी (जसपा) ले १ लाख ७६ हजार ९ सय ७२, राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ७२ हजार ३२ र जनमत पार्टीले ७९ हजार १ सय ४३ मत ल्याएर पनि समानुपातिक सिट पाउनबाट वञ्चित भए। अन्य साना दलहरूले पनि थ्रेसहोल्ड कटाउन सकेनन्।

आगामी प्रतिनिधि सभामा दलगत स्थिति  

रास्वपा – १८२ सिट  (प्रत्यक्ष १२५ समानुपातिक ५७)  

नेपाली कांग्रेस – ३८ सिट  (प्रत्यक्ष १८  समानुपातिक २०)  

एमाले – २५ सिट  (प्रत्यक्ष ९  समानुपातिक १६)  

नेकपा – १७ सिट  (प्रत्यक्ष ८  समानुपातिक ९)  

श्रम संस्कृति पार्टी – ७ सिट  (प्रत्यक्ष ३ं समानुपातिक ४)

राष्ट्रिय प्रजातन्त्र पार्टी – ५ सिट  (प्रत्यक्ष १  समानुपातिक ४)   

प्रकाशित: २७ फाल्गुन २०८२ १६:०४ बुधबार