राजनीति

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीका तर्फबाट सोबिता गौतमले प्रस्ताव पेस गर्ने

प्रतिनिधिसभा बैठक आज (शुक्रबार) बस्दै छ।

संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजे सुरु हुने छ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ प्रस्तुत गर्ने छन्। यस्तै, सांसद खडकबहादुर बुढाले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस् भनेर राखेको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यसैगरी, प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृतिका प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

नीता घतानीले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गर्न राखेको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रकाशित: ५ असार २०८३ ०९:५१ शुक्रबार