राजनीति

प्रतिनिधिसभा बैठक बिहीबार बस्ने

रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका विषयमा सरकारको जवाफ र सांसदहरूको धारणा समेट्दै प्रतिनिधि सभाको बुधबारको बैठक सकिएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठकलाई बिहीबार भदौ १८ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका छन्।

बुधबारको बैठकमा भोटेकोशी बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति प्रतिनिधिसभाले गहिरो दुःख व्यक्त गर्दै विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो। प्रस्तावमार्फत विपद्मा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ।

त्यस्तै, बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकहरूको खोजी कार्यलाई तीव्र बनाउन तथा प्रभावित परिवारको राहत र पुनर्स्थापनालाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइएको छ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीबाट भएको क्षति तथा विपद्पछि सरकारले सञ्चालन गरेका उद्धार, राहत र पुनर्स्थापनाका प्रयासबारे संसद्लाई जानकारी गराएका थिए। प्रधानमन्त्रीले विपद्को पछिल्लो अवस्था, मृतक तथा बेपत्ता नागरिकको विवरण, उद्धारमा देखिएका चुनौती र राहत व्यवस्थापनका लागि सरकारले गरिरहेको कामबारे सांसदहरूलाई जानकारी दिएका थिए।

प्रधानमन्त्री शाहले विपद्को जटिल अवस्थाबीच उद्धार तथा राहतका काम अघि बढिरहेको बताउँदै प्रभावित नागरिकसम्म राज्यको उपस्थिति प्रभावकारी रूपमा पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताएका थिए।

बैठकमा विभिन्न राजनीतिक दलका सांसदहरूले समेत भोटेकोशी बाढीबाट भएको क्षति, उद्धार तथा राहतको अवस्था र सरकारको कार्यशैलीबारे आफ्ना धारणा राखेका थिए। उनीहरूले प्रभावित क्षेत्रमा उद्धार र राहत पुर्‍याउन देखिएको कठिनाइ तथा ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका थिए।

सांसदहरूले विपद् व्यवस्थापनमा सरकारका सबै संयन्त्रलाई थप सक्रिय बनाउनुपर्ने, प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुपर्ने तथा बेपत्ता नागरिकको खोजीलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।

त्यस्तै, प्राकृतिक विपद्को सामना राजनीतिक विभाजनभन्दा माथि उठेर राष्ट्रिय सहमति र सहकार्यका साथ गर्नुपर्ने धारणा पनि बैठकमा व्यक्त भएको थियो। प्रभावित क्षेत्रको तत्काल राहतसँगै दीर्घकालीन पुनर्स्थापना र क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणका लागि स्पष्ट योजना बनाउन सरकारलाई सांसदहरूले सुझाव दिएका छन्।

भोटेकोशी बाढीको विषयमा सरकारको धारणा र सांसदहरूको प्रतिक्रिया प्रस्तुत भएपछि सभामुख अर्यालले प्रतिनिधिसभाको अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी बुधबारको बैठक स्थगित गरेका हुन्।

प्रकाशित: १७ भाद्र २०८३ १५:५६ बुधबार