आज (बिहीबार)का लागि तय भएको प्रतिनिधिसभा बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने ६ मध्ये ४ दलका नेताहरूले मन्तव्य राख्न समय माग गरेका छन्।
सरकारको नेतृत्व गरिरहेको मुख्य दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका सांसद रवि लामिछानेले आजको बैठकमा मन्तव्य राख्ने तय भएको संघीय संसद् सचिवालयले जानकारी दिएको छ।
सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बे, नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’, नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट वर्षामान पुन मगरले मन्तव्य राख्ने तय भएको छ।
अहिलेसम्म श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट कसैको पनि नाम नआएको उनले नागरिकन्युजलाई जानकारी दिए। यद्यपी नाम आएको खण्डमा यी दुई दलका नेतालाई पनि आफ्नो मन्तव्य राख्न दिइने उनले बताए।
सिंहदरबारको पुतली बगैँचामा रहेको निर्माणाधीन नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा बिहीबार दिउँसो २ बजे संसद् बैठक बस्न लागेको हो।
फागुन २१ गतेको निर्वाचनपछिको नयाँ जनादेश अनुसार आज पहिलो पटक प्रतिनिधिसभा बैठक बस्दैछ। राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका थिए।
आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ पेस गर्ने सम्भावित कार्यसूची तय भएको छ।
त्यसअघि बैठकमा सभाका ज्येष्ठ सदस्य/सभामुख अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवशेन आह्वानसम्बन्धी पत्र तथा राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने छन्।
बैठकमा सभामुखले नेपालको संविधानको धारा, १०४ बमोजिम प्रतिनिधि सभाले आफ्नो नियमावली नबनाएसम्मका लागि प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम कामकारबाही गर्ने प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत गर्ने संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।
आज सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ।
बैठकमा अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा सदस्यहरूले आ-आफ्नो मन्तव्य राख्ने कार्यसूची तय भएको महासचिव पाण्डेयले जानकारी दिए। सोही बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रतिनिधि सभाको सभामुख पदको निर्वाचनका लागि दिन तोक्नेछन्।
बैठकको अन्त्यमा सभामुखले संविधानसभाका सदस्य एवं पूर्वसदस्यहरू ऋषिकेश गौतम, मोहम्मद आफताव आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र संविधासभा तथा राष्ट्रियसभाका सदस्य बलदेव बोहोराको शोक प्रस्ताव प्रस्तुत गर्नेछन्।
प्रकाशित: १९ चैत्र २०८२ १२:१७ बिहीबार