राजनीति

प्रतिनिधिसभा चुनाव: ५१ थरी सामग्री जुटाउँदै निर्वाचन आयोग

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि आवश्यक ५१ थरी सामग्री जुटाउने प्रक्रियामा निर्वाचन आयोग लागेको छ। आयोगलाई चाहिने ५१ थरी निर्वाचन सामग्रीमध्ये ३७ थरी जिल्ला निर्वाचन कार्यालयले जुटाएर मतदान स्थलमा पठाउने छन्। यसका लागि आयोगले जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिइसकेको छ। १४ थरी निर्वाचन सामग्री आयोगले आफैं जुटाएर मतदान स्थलमा पठाउनेछ।

आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार ३७ थरी निर्वाचन सामग्री जुटाउन करिब १८ करोड रुपैयाँ खर्च लाग्नेछ। पन्चिङ मेसिन, कपडा, भित्र र बाहिर लेखिएका स्टिकरजस्ता सामग्री जिल्ला निर्वाचन कार्यालयहरूले जुटाउनेछन्। मतपत्र, मतपेटिका, मतदाता नामावली, लाहा छाप, मार्कर, पेन्सिल, छापजस्ता सामग्री आयोगले जुटाउने छ। आवश्यक सामग्री खरिद प्रक्रिया अघि बढाइएको न्यौपानेले बताए।

यसपटक आयोगले निर्वाचन प्रयोजनका लागि नयाँ मतपेटिका र मतपत्र छाप्ने कागज खरिद नगर्ने भएको छ। आयोगसँग मतपेटिका र कागज मौज्दात रहेकाले यी सामग्री यसपटक खरिद गर्नुनपर्ने आयोगका कर्मचारीले बताएका छन्। कर्मचारीका अनुसार निर्वाचन प्रयोजनका लागि ७५ हजार मतपेटिका चाहिन्छ। यी सबै मतपेटिका आयोगसँग छन्। फागुन पहिलो साताभित्र मतदाता नामावलीसहित सबै निर्वाचन सामग्री मतदाता स्थलमा पठाइसक्ने न्यौपानेले बताए।

मतदाता नामावली छपाइ सुरु

निर्वाचन आयोगले मतदाता नामावली छपाइ सुरु गरेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुक्रबार मतदाता नामावली छपाइ शुभारम्भ गरे। आयोगका अनुसार कर्मचारीहरूले निर्वाचनको तयारीलाई तीव्र बनाएका छन्।

समानुपातिकतर्फ ५८ वटा चुनाव चिह्न मतपत्रमा रहने आयोगले जनाएको छ। आयोगका अनुसार प्रत्यक्ष निर्वाचनमा एक सय सात वटा चुनाव चिह्न प्रयोग हुनेछ। एक सय दुई वटा दलले छुट्टाछुट्टै निर्वाचन चिह्न लिएर चुनावमा प्रतिस्पर्धा गर्नेछन्। आयोगले विभिन्न दललाई एक सय सात वटा चुनाव चिह्न दिएको छ।

आयोगले दलहरूलाई दर्ताका लागि निवेदन दिने बेलामै चुनाव चिह्न रोज्न सुविधा दिएको थियो। आयोगका अनुसार सकेसम्म दलहरूलाई रोजेकै चिह्न दिइएको छ। दोहोरो दाबी भएको अवस्थामा मात्र विकल्प छान्न लगाइएको हो। पुराना पार्टीले पहिल्यै प्रयोग गरिसकेको चिह्न पाएका छन्।

प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि एक सय १४ वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन्। आयोगले निर्वाचनमा भाग लिन एक सय १४ वटा दलले दिएको दल दर्ता निवेदन स्वीकृत गरेको छ। आयोगका अनुसार १३ वटा दलको निवेदन दर्ता खारेज भएको छ। विभिन्न कारणले ती दलको दर्ता खारेज गरिएको हो। आयोगका अनुसार हालसम्म आयोगमा दर्ता कायम भएका दलहरूको संख्या एक सय ४३ छ। तीमध्ये एक सय १४ वटा दलले निर्वाचनमा भाग लिने भएका छन्।

प्रकाशित: १९ पुस २०८२ ०७:५९ शनिबार