दुईदिने राजकीय भ्रमणका लागि भारत पुगेका प्रधानमन्त्री बालेन्द्र शाह नयाँदिल्लीस्थित होटल ताजमा आइपुगेका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा पहिलो द्विपक्षीय भ्रमणमा रहेका शाह आज दिउँसो २ बजेर ८ मिनेटमा काठमाडौंबाट नेपाल एयरलाइन्सको नियमित उडानमार्फत प्रस्थान गरी ३ बजेर १८ मिनेटमा दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए।
विमानस्थलबाट उनी होटल ताज पुगेका हुन्।
विमानस्थलमा शाहलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका थिए। भ्रमणको पहिलो दिन आज साँझ प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
भोलि सोमबार बिहान राष्ट्रपति भवनमा शाहको औपचारिक स्वागत गरिनेछ। त्यसपछि उनले भारतीय समय अनुसार बिहान १० बजे राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन्।
लगत्तै हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ। त्यसक्रममा शाह र मोदीबीच करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता गर्ने तयारी समेत छ।
द्विपक्षीय बैठकपछि दुवै प्रधानमन्त्रीले भारतको अयोध्या र नेपालको जनकपुरधामलाई जोड्ने ६०४ किलोमिटर दूरीको नयाँ रेल सेवाको उद्घाटन गर्नेछन्।
हप्तामा एक दिन सञ्चालन हुने उक्त रेल जनकपुरधामबाट हरेक शनिबार र अयोध्या क्यान्टबाट हरेक सोमबार छुट्नेछ। अयोध्या धाम, गोरखपुर, बस्ती, नरकटियागञ्ज, रक्सौल, सीतामढी, मधुबनी र जयनगर प्रमुख बिसौनी रहने यो सेवाबाट दुवै देशका तीर्थयात्री तथा सीमावर्ती क्षेत्रका बासिन्दाले प्रत्यक्ष लाभ पाउनेछन्।
भ्रमणका अवसरमा सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न परियोजनाको उद्घाटन र शिलान्यास गर्ने कार्यक्रम छ। दुवै देशका नेतृत्वबीच व्यापार, पारवहन, लगानी, ऊर्जा र पूर्वाधार विकासमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ।
यस्तै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकास जस्ता क्षेत्रमा विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गरिनेछ। भोलि नै शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन्।
शाहको आधिकारिक भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र छन्।
टोलीमा स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, मिडिया व्यवस्थापन संयोजक दीपा दाहाल र संस्कृति तथा सम्पदा समन्वय उप-संयोजक विनय शाक्यसहित उच्च सरकारी अधिकारी, व्यवसायी तथा सरकारी सञ्चारमाध्यमका ३ जना प्रतिनिधि गरी कुल ३५ जना सहभागी छन्। निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीहरूको टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी छ।
भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह भोलि साँझ ६ बजेर ३५ मिनेटमा नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने तालिका छ। स्वदेश फर्किएपछि परराष्ट्रमन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी भ्रमणबारे जानकारी दिनेछन्।
प्रकाशित: ६ मंसिर २०८३ १६:४१ आइतबार