गृह मन्त्रालयले एकैपटक २३ जना उच्च तहका कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ। शुक्रबारको मन्त्रीस्तरीय निर्णयबाट १४ सहसचिव र ९ उपसचिवको सरुवा तथा पदस्थापन गरिएको हो।
मन्त्रालयको निर्णयसँगै झापा, सुर्खेत, बारा, गोरखा, रौतहट, दोलखा, पर्वतसहित विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन्।
सहसचिव श्रवणकुमार पोखरेललाई झापाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। यसअघि झापामा कार्यरत सीडीओ शिवराम गेलाललाई गृह मन्त्रालयमा तानिएको छ।
त्यस्तै, महेन्द्रकुमार सापकोटालाई सुर्खेत, खडानन्द अधिकारीलाई बारा, धर्मेन्द्रकुमार मिश्रलाई गोरखा, रेखा कँडेललाई दोलखा, गंगाबहादुर क्षेत्रीलाई पर्वत र लक्ष्मीप्रसाद पौडेललाई रौतहटको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ।
यसैगरी, रौतहटका सीडीओ दिनेशसागर भुसाल, गोरखाका तुलसीबहादुर श्रेष्ठ र दोलखाका हरिप्रसाद घिमिरेलाई गृह मन्त्रालय वा मातहतका निकायमा तानिएको छ।
सहसचिव ऋषिराम तिवारीलाई लागूऔषध नियन्त्रण विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ।
उपसचिवतर्फ पनि विभिन्न जिल्लाका प्रशासनिक नेतृत्वमा परिवर्तन गरिएको छ। कुलेश्वर अर्याललाई भोजपुर, नवराज बराललाई जाजरकोट, महेशकुमार गुरुङलाई खोटाङ, बन्दना केसीलाई सल्यान र गणेश गैरेलाई म्याग्दीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।
त्यस्तै, अमरबहादुर वलीलाई बाँकेको सहायक प्रमुख जिल्ला अधिकारी र बेदराज फुयाँललाई डडेल्धुराको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ।
मन्त्रालयले प्रशासनिक कामकारबाहीलाई थप प्रभावकारी बनाउने उद्देश्यले सहसचिव तथा उपसचिव तहमा सरुवा तथा पदस्थापन गरेको जनाएको छ।
प्रकाशित: १९ भाद्र २०८३ २०:०२ शुक्रबार