राजनीति

गृहमन्त्रीज्यू, अक्सिजन सिलिण्डर बोकेर स्टन्ट गर्ने बेला होइन, जनशक्ति परिचालन गर्नुहोस् : ऐन महर

सांसद ऐन महरले गृहमन्त्रीलाई उद्धार अभियानको प्रभावकारी कमाण्ड सम्हाल्दै टनेलमा फसेका नागरिकको जीवन रक्षा गर्न तत्काल राज्यका सम्पूर्ण स्रोत–साधन परिचालन गर्न आग्रह गरेका छन्।

त्रिशूली–३ ‘ए’ लगायतका टनेलमा नागरिक फसेको अवस्थामा उद्धारको आशा पलाएको भन्दै महरले एक–एक सेकेण्ड महत्वपूर्ण रहेको बताएका छन्। उनले गृहमन्त्रीलाई सम्बन्धित आयोजनाका प्राविधिक तथा निर्माणकर्तासँग समन्वय गरी आवश्यक निर्णय लिन र सबै टनेलमा एकैपटक उद्धार कार्य अघि बढाउन आग्रह गरेका छन्।

‘गृहमन्त्रीज्यू, प्लिज तपाईं कमाण्ड सम्हाल्नुहोस्, समन्वय गर्नुहोस् र सञ्चार गर्नुहोस्। आवश्यक निर्णय गर्नुहोस् र सिंगो राज्यशक्ति तथा आवश्यकताअनुसार जनशक्ति परिचालन गर्नुहोस्,’ महरले भनेका छन्।

उनले नागरिकको जीवन रक्षा राज्यको पहिलो र अनिवार्य कर्तव्य भएको उल्लेख गर्दै आवश्यक परे अन्तर्राष्ट्रिय सहयोगसमेत लिनुपर्ने बताएका छन्। राहत कोषमा पर्याप्त रकम रहेको भन्दै विज्ञ तथा प्राविधिक ल्याएर उद्धार कार्यलाई तीव्रता दिनुपर्ने उनको भनाइ छ।

महरले उद्धार अभियानमा गृहमन्त्री स्वयंले अक्सिजन सिलिन्डर बोक्नुभन्दा समग्र उद्धारको नेतृत्व र समन्वयमा ध्यान दिनुपर्ने बताए। गृहमन्त्रीको प्रत्यक्ष उपस्थितिका कारण उद्धारमा खटिएका जनशक्तिलाई असहजता भएको दाबी गर्दै उनले भनेका छन्, ‘तपाईंको काम त्यो अक्सिजन सिलिन्डर बोक्ने होइन।’

‘अहिले भाइरल हुनका लागि स्टन्ट गर्ने बेला होइन, नागरिकको जीवन रक्षा गर्ने बेला हो,’ महरले भनेका छन्।

उद्धार गरिएका नागरिकको उपचार चिकित्सकहरूले गर्ने भन्दै उनले गृहमन्त्रीलाई बाँकी टनेलमा फसेका नागरिकको जीवन जोगाउने अभियानमा केन्द्रित हुन आग्रह गरेका छन्।

महरले फसेका सबै नागरिकलाई जीवितै उद्धार गर्न सके गृहमन्त्रीको कामको विश्वव्यापी प्रशंसा हुने उल्लेख गर्दै तत्काल उपलब्ध जनशक्ति, स्रोत र साधनको अधिकतम परिचालन गर्न जोड दिएका छन्।

यस्तो छ उनको स्टाटस:

गृहमन्त्री ज्यू! प्लिज तपाई कमाण्ड  सम्हालुहोस ,समन्वय गर्नुहोस र संचार गर्नुहोस ,आवस्यक निर्णय गर्नुहोस र सिंगो राज्यशक्ति र आवस्यकतामा जनशक्ति पनि परिचालन गर्नुहोस। अरु टनेलमा फसेका नागरिकको उद्धार गर्न पहल गर्नु कम्तिमा मानवियता छ भने। फसेका मानिसहरुको उद्धार गरेर जिवन रक्षा गर्न सकिने आशा पलाएको छ। आफ्ना नागरिकको जिवन रक्षा गर्नु राज्यको पहिलो र अनिवार्य कर्तव्य हो त्यसैले आवस्यक पर्यो भने अन्तर्राष्ट्रिय सहयोग पनि लिनु पर्यो। सम्बन्धित आयोजनाका प्राबिधिक र निर्माणकर्ताहरु सँग छलफल गर्नुहोस। हामी सँग राहत कोषमा मा अर्बौं रकम मौज्दात छ त्यसैले बिज्ञ तथा प्राबिधिकहरु ल्याएर छिटो छिटो काममा लागौं। सबै टनेलमा एकैपटक काम थालौं त्यहाँ फसेका नागरिकहरुको जिवन रक्षाका लागि एक एक सेकेण्डको महत्व छ। उपलब्ध जनशक्ति तथा स्रोत साधनको यथाशिघ्र परिचालन गरौं। तपाई भाईरल यसै हुनुहुन्छ त। कति भाईरल हुन खोजेको हो र ? त्यो टनेल भित्र फसेका सबै नागरिकको जिवितै उद्धार गरे पछि तपाई यसै महान हुनुहुन्छ मानिसहरु मेडियाहरु तपाईलाई खोज्दै आउनेछन। सारा दुनियाँले तपाईको प्रशंसा र तारिफ गर्ने छ। तपाईको काम त्यो अक्सिजन सिलिण्डर बोक्ने होइन। तपाइले गर्दा त्यहाँ काम गर्ने मान्छेलाई डिस्टर्ब भैरहेको छ।  तपाई यहाँबाट गैदिनुहोस भनेर सेनाले अस्ति मात्रै भनेको किन बिर्सिनु भयो। त्यो सिलिण्डर बोक्ने काम त त्यहाँ खटिएको एक जना प्रहरि जवानले गरिहाल्नुहुन्छ  नि। त्यसका लागि गृहमन्त्री चाहिदैन। अहिले भाईरल हुनका लागि स्टण्ट गर्ने बेला होइन नागरिक जिवन रक्षा गर्ने बेला हो। उद्धार गरिएका नागरिकको उपचार चिकित्सकहरुले गर्नुहुन्छ तपाई अरु फसेका नागरिक को जिवन जोगाउन लागिदिनुहोस प्लिज।

प्रकाशित: १९ भाद्र २०८३ ११:१७ शुक्रबार