राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोबिता गौतमले लेटाङमा घटेको १२ वर्षीया बालिका अंशु गौतमको निर्मम हत्या घटनाले सम्पूर्ण देशवासीलाई स्तब्ध र आक्रोशित बनाएको बताएकी छन्।
२०८२ असोज २१ गते बेलुकी ४ बजेदेखि सम्पर्कविहीन रहेकी लेटाङ–२ स्कुलचोककी अंशुको शव शुक्रबार बिहान लेटाङ–बेलबारी सिमानासँगैको जंगल क्षेत्रमा बीभत्स अवस्थामा फेला परेको प्रहरी विवरणले गम्भीर मानवीय अपराधको संकेत गरेको उनले बताइन्।
यो घटना केवल एक परिवारको पीडा मात्र नभइ सम्पूर्ण समाजको सुरक्षामाथिको गम्भीर प्रश्न भएको बताउँदै उनले भनिन्, 'यस्तो घटनामा संलग्न जो कोहीलाई पनि कुनै प्रकारको छुट नदिइ शीघ्र कानुनी दायरामा ल्याइनुपर्छ।'
उनले उक्त घटनाको घोर निन्दा गर्दै अपराधीमाथि अत्यन्तै कडा र उदाहरणीय कारबाहीको माग गरेकी छन्।
'बालिकाको मृत्युको विषयमा तत्काल र छिटो अनुसन्धान प्रारम्भ गरी दोषीलाई कानुनी दायरामा ल्याउनु आजको पहिलो आवश्यकता बनेको छ,' गौतमले सामाजिक सञ्जालमा लेख्छिन्, 'गृह मन्त्रालयले यस घटनालाई फास्ट ट्र्याकमा कार्य गरी अपराधीलाई पक्रिएर कानुनको दायरामा ल्याओस भन्ने अपेक्षा गर्दछु।'
प्रकाशित: ८ कार्तिक २०८२ ११:५० शनिबार