गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय हरेक चेलीको माइती घर भएको बताएका छन् । सरकारले प्रत्येक नागरिकका लागि भरोसायोग्य काम गर्ने बताए ।
बिहीबार सञ्चारकर्मीसँगको कुराकानीमा उनले अघिल्ला सरकारले गरेका सकारात्मक कामलाई निरन्तरता दिँदै देखिएका कमजोरी सुधार गरेर अघि बढ्ने नीति लिइएको स्पष्ट पारे। विपद् व्यवस्थापनका क्षेत्रमा संस्थागत सुधार र समन्वयलाई थप प्रभावकारी बनाउने सरकारको लक्ष्य रहेको उनको भनाइ थियो।
गृहमन्त्री गुरुङले नागरिक सुरक्षा सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्दै गृहमन्त्रालयलाई प्रत्येक नागरिक, विशेषगरी महिलाहरूका लागि भरोसायोग्य संस्थाका रूपमा स्थापित गर्न चाहेको बताए। उनले हरेक नागरिकको सुरक्षा र सेवाका लागि सरकार प्रतिबद्ध रहेको र प्रहरी संगठन अहिले पहिलेभन्दा बढी प्रभावकारी रूपमा काम गरिरहेको दाबी गरे।
उनले भने, ‘पहिलेको सरकारले गरेको राम्रा कामलाई प्रोत्साहन गरेर त्यसमा भएको कमी कमजोरीलाई पूर्ण गरि त्यसलाई पनि निरन्तरता दिदैछौ । गृहमन्त्रालय हरेक चेलीको लागि माइती हो भनी सोच्नुपर्छ। हरेक नारीको लागि हामी आफ्नो परिवार भएर उभिन चाहान्छौं । हामी हरेक नागरिकको सुरक्षा र सेवाको लागि काम गर्छौ पहिला भन्दा अहिले प्रहरी पनि प्रभावकारीरुपमा काम गरिरहेको छ।’
प्रकाशित: ४ असार २०८३ १५:२७ बिहीबार