राजनीति

गृहमन्त्री भन्छन्: जेन-जी साथीहरु पुरानै दलमा गएर नेतृत्व लिए धेरै राम्रो हुन्छ

गृहमन्त्री ओमप्रकाश अर्यालले जेन-जी आन्दोलनमा संलग्न युवाहरू राजनीतिमा आउन चाहेमा उनीहरूका लागि विभिन्न विकल्प खुला रहेको बताएका छन्।

उनले यदि जेन-जीका अभियन्ताहरू पुरानै राजनीतिक दलहरूमा प्रवेश गरेर नेतृत्व विकास गर्न चाहेमा त्यो अत्यन्तै राम्रो कदम हुने धारणा व्यक्त गरे।

बिहीबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले यस्तो बताएका हुन्।

उनले भने, ‘जेन-जीका साथीहरू पुरानै दलमा पनि जान सक्नुहुन्छ। त्यसका लागि पनि सरकारले वातावरण बनाइदिन्छ। नयाँ दल खोलेर आउनुहुन्छ भने पनि त्यसका लागि सरकारले सहयोग गर्छ।’

गृहमन्त्री अर्यालले युवाहरूका लागि दुवै बाटो खुला रहेको र सरकारले कुनै पनि राजनीतिक शक्तिलाई पुरानो वा नयाँ भनेर विभेद नगर्ने स्पष्ट पारे।

उनले पुरानै दलभित्र गएर नेतृत्व लिनुलाई सकारात्मक रूपमा व्याख्या गर्दै भने, ‘उहाँहरू पुरानै पार्टीमा गएर पनि नेतृत्व लिन सक्नुहुन्छ, त्यो पनि धेरै राम्रो कुरा हो। नयाँ पार्टी खोल्नुहुन्छ भने पनि त्यो एकदम स्वागतयोग्य कुरा हो।’

कुनै पनि राजनीतिक शक्तिले राज्यसत्तामा पुग्नका लागि चुनावको वैधानिक माध्यम नै अपनाउनुपर्नेमा जोड दिँदै उनले सरकारले त्यस प्रक्रियालाई सहजीकरण गर्ने बताए।

‘फेरि पनि उहाँहरू राज्य सत्तामा पुग्ने भनेको चुनावको माध्यमबाटै हो, वैधानिक माध्यम त्यही नै हो। त्यसकारण त्यसलाई हामीले सहजीकरण गर्छौं,’ उनले भने।

सरकारले स्थापित दल र नयाँ पुस्ता दुवैलाई समान अवसर प्रदान गर्ने नीति लिएको बताउँदै उनले राजनीतिक प्रक्रियामा युवाहरूको सहभागितालाई सरकारले सधैं स्वागत गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: २७ कार्तिक २०८२ २०:०८ बिहीबार