गृहमन्त्री सुधन गुरुङले नेपाली पत्रकारिता जगत्को संघर्ष र योगदानको प्रशंसा गर्दै दलगत स्वार्थमा लिप्त सीमित पत्रकारहरूलाई सुध्रिन चेतावनी दिएका छन्।
अधिकांश पत्रकारले परिवर्तनका लागि ठूलो योगदान दिएको उल्लेख गर्दै उनले पत्रकारिताको आवरणमा राजनीति गर्ने ‘३/४ जना’ लाई आफ्नो पार्टीसहित सुध्रिन खबरदारी गरेका हुन्।
काठमाडौंमा जेन-जीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले सञ्चारकर्मीहरूतर्फ लक्षित गर्दै यस्तो बताएका हुन्। उनले इमानदार पत्रकारहरूप्रति आफ्नो सधैँ सम्मान रहने बताए।
‘म पत्रकार मित्रहरूलाई पनि सन्देश दिन चाहन्छु, तपाईंहरूले धेरै काम गर्नुभएको छ, धेरै सहयोग गर्नुभएको छ, धेरै लड्नुभएको छ। मैले त्यो देखेको छु, तपाईंहरूलाई मेरो सम्मान छ,’ गृहमन्त्री गुरुङले भने।
लगत्तै पार्टी निकट रहेर काम गर्ने सीमित पत्रकारप्रति आक्रामक बन्दै उनले थपे, ‘तर, यो ३/४ जना छन् नि, उनीहरूलाई चाहिँ तपाईंहरूको पार्टीसहित सुध्रिनुस् भन्न चाहन्छु।’
कार्यक्रममा गृहमन्त्री गुरुङले गलत संस्कार परिवर्तन गर्न र व्यवस्था सुधार्न जनताले दुई तिहाइको मत दिएको दाबी गर्दै मिडियाभित्र रहेका राजनीतिक दलका पक्षधरहरूले पनि अब आफ्नो शैली बदल्नुपर्ने धारणा राखे।
प्रकाशित: २३ भाद्र २०८३ १५:४६ मंगलबार