राजनीति

गृहमन्त्रीको स्वीकारोक्ति: दुर्गा प्रसाईँले देखाएको भिडिओको आवाज मेरै हो

‘मैले बोलेको गलत छैन, आगजनी र क्याजुअल्टी हुनुहुन्न नै भनेको छु’

गृहमन्त्री ओमप्रकाश अर्यालले राजावादी अभियन्ता दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडिओ फुटेजमा सुनिएको एउटा आवाज आफ्नो रहेको स्वीकार गरेका छन्। बिहीबार राष्ट्रिय सभाको विधायन समितिमा सांसदहरूका प्रश्नको जवाफ दिँदै गृहमन्त्री अर्यालले उक्त कुरा स्वीकार गरेका हुन्। 

‘भदौ २४ गतेको भिडिओको बारेमा माननीय ज्युले भन्नुभएको छ। त्यो भिडिओमा बोलेको एउटा मान्छे म पनि हो,’ गृहमन्त्री अर्यालले भने, ‘मैले बोलेकोमा त्यस्तो अन्यथा छैन। आगजनी भएको पनि ठिक र मान्छेको क्याजुअल्टी(हता हती) पनि ठिक भनेर मैले भनेको छैन। म त्यसो हुनुहुँदैन भन्ने कुरा नै मैले त्यहाँ बोलेको छु।’ त्यही मक्सतले नै आफ्नो त्यहाँ उपस्थिति रहेको उनले दाबी गरे।

‘त्यसलाई न्यूनीकरण गर्नको लागि धेरैलाई अनुरोध पनि गरियो। तपाईँले यसो बोलिदिनुभयो भने कम होला कि, यो आगजनी रोकिएला कि भनेर अरूलाई पनि एप्रोच गरिएको थियो,’ उनले भने। कोही पनि उपलब्ध नभएपछि आफै आह्वान गरेको गृहमन्त्री अर्यालले दाबी गरे।

‘मेरो पार्टमा म चाहिँ अहिंसावादी हो, मैले अहिंसाकै पहल गरेको छु र गरिरहने छु। म त्यसमै प्रतिबद्ध छु,’ गृहमन्त्री अर्यालले अगाडि भने। 

दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडिओमा के थियो? 

राजावादी अभियन्ता प्रसाईँले मंसिर १ गते आफ्नै निवासमा एउटा भिडिओ सामग्री सार्वजनिक गरेका थिए। झन्डै २७ मिनेटको उक्त भिडिओ भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन र विध्वंस, त्यसपछि बनेको सरकारविरुद्ध थियो। 

सोही भिडिओमा प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री अर्यालको भूमिकामाथि पनि प्रश्न उठाइएको छ। प्रसाईँले उक्त भिडिओमार्फत दुवै जनामाथि विदेशी डिजाइनमा नेपालमा विध्वंस मच्चाउन संलग्न भएको संगीन आरोप पनि लगाएका छन्। जसको प्रमाणका रूपमा जेनजी आन्दोलन भड्काउन भूमिका खेलेका प्रमाण भन्दै उक्त भिडिओमा केही सामग्री पनि सार्वजनिक गरेका छन्। 

सोही भिडिओमा साढे १० मिनेटपछि सार्वजनिक एक फुटेजको ब्याक ग्राउन्डमा हालकी प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालको आवाज सुनिन्छ। उक्त दृश्यमा आकाशमा हेलिकप्टर उडिरहेको देखिन्छ। सँगै घर जलेर निस्किएको धुवाँको मुस्लै मुस्लो देखिन्छ। 

त्यही बेला अर्याल भन्छन्–यी घरमा मान्छे नि परे होलान् कोही न कोही? क्याजुअल्टी पनि छ होला?

त्यही बेला अर्को आवाज सुनिन्छ–उ हेलिकप्टर भागेछ।

अर्को आवाज–उ अर्को अर्को..... हान्नु न ढुङ्गाले! 

भाग्यो.. भाग्यो।

अर्को आवाज–यिनीहरूलाई बचाउन के जरुरी थियो र? 

त्यसै क्रममा अर्याल सुनिन्छन्–हैन ठिक छ, मान्छे त बचुन्।

त्यसपछि अहिलेकी प्रधानमन्त्री कार्की सुनिन्छन्–के बचाउनू?! .. के(बचाउने) सेना हो? 

अर्याल भन्छन्–सेनाले भगाइदियो! 

कार्की भन्छिन्–सेनाले भगाए जस्तै भयो नि! 

यसै गरी उक्त भिडिओमा संवेदनशील र अमानवीय आशयका कुराकानी भएका सुनिन्छन्। 

दुर्गा प्रसाईँले यो भिडिओ बानेश्वर हाइटमा रहेको एक विदेशी संस्थाको कार्यालयमा बसेर खिचिएको दाबी गरेका छन्। 

उक्त भिडिओमा प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालका अन्य गतिविधि र अभिव्यक्ति पनि संलग्न भए पनि सबैभन्दा बढी संवेदनशील विषय त्यही फुटेजलाई लिएर अहिले चर्चा परिचर्चा भइरहेको छ। 

त्यही भिडिओबारे राष्ट्रिय सभाका सांसदले प्रश्न उठाएपछि गृहमन्त्री अर्यालले उक्त आवाज आफ्नो रहेको स्विकार्दै आफूले भने अमर्यादित कुराकानी र आशय नराखेको भन्दै बचाउ गरेका हुन्। 

प्रकाशित: ११ मंसिर २०८२ १७:३१ बिहीबार