राजनीति

ओली-लेखक समातिएपछि गृहमन्त्री गुरुङ भन्छन् : विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही नभएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत ‘वाचा भनेको वाचै हो’ भन्दै यस्तो बताएका हुन्।

गृहमन्त्री गुरुङले ओली र लेखकलाई नियन्त्रणमा लिइनु कसैप्रतिको प्रतिशोध नभई केवल न्यायको सुरुवात भएको स्पष्ट पारेका छन्। उनले यस कदमबाट अब देशले नयाँ दिशा लिने विश्वास समेत व्यक्त गरे।

शनिबार बिहानै प्रहरीले ओलीलाई उनको गुण्डुस्थित निवास र लेखकलाई कटुन्जेबाट नियन्त्रणमा लिएको थियो। जेनजी आन्दोलन दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ परेका हुन्।

जाँचबुझ आयोगले बानेश्वर गोलीकाण्डमा उनीहरूलाई दोषी ठहर्‍याउँदै फौजदारी मुद्दा चलाउन सिफारिस गरेपछि नयाँ सरकारले पक्राउ गर्ने निर्णय गरेको हो। 

हेर्नुस् गृहमन्त्रीको फेसबुक पोस्ट 
कानुनभन्दा माथि कोही छैन। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो। मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ। 

प्रकाशित: १४ चैत्र २०८२ ०६:४८ शनिबार