राजनीति

गृहमन्त्री अर्यालले लिए विदाइ

नागरिक सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक पूरा गरी आज गृह मन्त्रालयबाट बिदाइ भएका छन्।

नवनिर्वाचित सांसदहरूले आजै पद तथा गोपनीयताको शपथ लिएसँगै भोलि नयाँ सरकार गठन हुने तयारीका बीच उनले पदबाट विदा लिएका हुन्।

मन्त्रालयमा आज आयोजित विशेष बिदाइ समारोहलाई सम्बोधन गर्दै मन्त्री अर्यालले जेन-जी जनआन्दोलन पछिको असामान्य र चुनौतीपूर्ण अवस्थामा जिम्मेवारी सम्हालेको स्मरण गरे।

उनले आफ्नो कार्यकालमा शान्ति सुरक्षाको सामान्यीकरण, सुशासनको सुदृढीकरण र स्वच्छ, निष्पक्ष एवं भयरहित वातावरणमा ऐतिहासिक निर्वाचन सम्पन्न गर्नु नै मुख्य उपलब्धि रहेको बताए।

‘निर्वाचन हुने वा नहुने भन्ने आशङ्काबीच हामीले प्रशासनिक समन्वय र सुरक्षा तयारीमार्फत निर्धारित समयमै रक्तपातविहीन निर्वाचन सम्पन्न गर्यौं,’ मन्त्री अर्यालले भने, ‘यसबाट संविधान सही बाटोमा आएको छ र यसको सम्पूर्ण श्रेय आम नागरिक, सुरक्षाकर्मी र कर्मचारीको सामूहिक प्रयासलाई जान्छ।’

उनले आफ्नो कार्यकालमा भएका मुख्य कार्यहरूलाई मन्त्रालयको संस्थागत अभिलेखका रूपमा हस्तान्तरण गरे। सो अवसरमा उनले जेन-जी आन्दोलनका ४२ जना सुशासन योद्धा र ३ जना प्रहरीलाई शहीद घोषणा गरिएको, घाइतेहरूको वर्गीकरण गरी जीविकोपार्जन भत्ताको व्यवस्था गरिएको र आन्दोलनमा क्षतिग्रस्त भएका ४६५ सरकारी कार्यालयको पुनर्निर्माण गरी सेवा सुचारु गरिएको जानकारी दिए।

समारोहमा गृहसचिव राजकुमार श्रेष्ठले मन्त्री अर्यालको नेतृत्वमा मन्त्रालयले छोटो अवधिमा २ दर्जनभन्दा बढी कानुन तर्जुमा तथा परिमार्जन गर्न सफल भएको र सुरक्षा निकायको मनोबल उच्च बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै उनको कार्यशैलीको प्रशंसा गरे।

मन्त्री अर्याल २०८२ भाद्र ३० गते गृहमन्त्री नियुक्त भएका थिए । उनले १९१ दिने कार्यकालमा विपद् व्यवस्थापन, मिटरब्याज पीडितको समस्या सम्बोधन र नागरिकता प्राप्तिमा सहजता जस्ता जनपक्षीय कार्यहरू सम्पादन गरेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित: १२ चैत्र २०८२ १८:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App