गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला सुन र ६ किलो चाँदी रहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा सार्वजनिक गरिएको विवरणअनुसार मन्त्री गुरुङसँग उल्लेख्य परिमाणमा सुनचाँदीसहित विभिन्न जिल्लामा जग्गा रहेको देखिएको छ।
गृहमन्त्री गुरुङको नाममा धनकुटा, चितवन र गोरखामा जग्गा रहेको छ। उनले धनकुटाको कार्कीछाप, चितवनको भरतपुर र गोरखाको चुमनुब्रीमा आफ्नो र परिवारको नाममा जग्गा रहेको उल्लेख गरेका छन्। यीमध्ये अधिकांश जग्गा पैतृक रहेको विवरणमा जनाइएको छ।
चल सम्पत्तितर्फ गृहमन्त्री गुरुङसँग ८९ तोला सुन र ६ किलो चाँदी रहेको छ। यो परिमाणको सुन र चाँदी पनि आफूलाई पैतृक सम्पत्तिका रूपमा प्राप्त भएको उनले विवरणमा उल्लेख गरेका छन्।
यस्तै, मन्त्री गुरुङको वित्तीय अवस्थातर्फ लक्ष्मी सनराइज बैंक, नबिल बैंक र सानिमा बैंकमा खाताहरू रहेका छन्। ती खाताहरूमा विभिन्न समयको बचत रहेको जनाइएको छ।
सवारी साधनको हकमा भने उनीसँग एउटा एमभी–एस५ कार रहेको सम्पत्ति विवरण फाराममा उल्लेख छ।
प्रकाशित: २९ चैत्र २०८२ १९:४० आइतबार