राजनीति

घर नै महिलाका लागि असुरक्षाको केन्द्र बनिरहेको छ : सचेतक धिताल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद एवं सचेतक क्रान्तिशिखा धितालले पछिल्ला हप्तामा महिला तथा बालिकामाथि भएका हत्या र हिंसाका घटनाले आफूलाई गम्भीर रूपमा विचलित बनाएको बताएकी छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै धितालले बारादेखि सप्तरीसम्मका महिलासँग सम्बन्धित घटनाले घर नै महिलाका लागि असुरक्षित बन्दै गएको देखाएको उल्लेख गरेकी हुन्। ‘पछिल्ला हप्ताहरूमा महिला, अझ खासगरी बालिकाहरूको हत्याको श्रृंखला र यसपालि आइरहेको सूचनाले म पूरै बिथोलिएकी छु। बारादेखि सप्तरीसम्मका घटना देख्दा थाहा हुन्छ, घर नै महिलाका लागि असुरक्षाको केन्द्र बनिरहेको छ,’ उनले भनिन्।

उनले कतिपय अवस्थामा आफ्नै आफन्त महिलाका लागि सबैभन्दा खतरनाक व्यक्ति बनिरहेको बताइन्। धितालले हरेक पटक महिला तथा बालिकाको ज्यान गएपछि दोषीलाई कडा सजाय दिनुपर्ने आवाज उठ्ने गरेको भए पनि अपराध भइसकेपछि सजाय दिनु मात्रै न्याय नभएको बताइन्। ‘न्याय भनेको अपराध भइसकेपछि दोषीलाई सजाय दिनु मात्रै हो त ?’ उनले प्रश्न गरिन्।

उनले घरेलु हिंसा, यौन दुर्व्यवहार र बाल हिंसासम्बन्धी प्रारम्भिक उजुरीलाई राज्यले कति प्राथमिकताका साथ सम्बोधन गरेको छ कि छैन भन्ने विषयमा पनि समीक्षा गर्नुपर्ने बताइन्। ‘हामी घरेलु हिंसा, यौन दुर्व्यवहार र बाल हिंसाका प्रारम्भिक उजुरीलाई कति प्राथमिकतापूर्वक समाधान गरेका छौँ ? हामीले हरेक व्यक्तिको मानसिक स्वास्थ्यलाई कति गम्भीरतापूर्वक लिएका छौँ ?’ उनले प्रश्न गरिन्।

सचेतक धितालले हिंसाका घटना भएपछि मात्रै प्रतिक्रिया जनाउनेभन्दा सुरुदेखि नै रोकथामका लागि प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्। उनले महिला तथा बालिकामाथि हुने हिंसा रोक्न ढिला नगरी विद्यमान प्रणालीलाई थप फराकिलो र प्रभावकारी बनाउन आग्रह गरिन्। ‘एकपटक सोचौँ त, मनन गरौँ र विलम्ब नगरी प्रणालीलाई फराकिलो बनाऔँ। हाम्रो उकुसमुकुसलाई सधैँ आवेग र आक्रोशमा मात्र होइन, सुधारमा बदलौँ,’ उनले भनिन्।

प्रकाशित: ८ भाद्र २०८३ १५:४३ सोमबार