सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा सुनुवाइ सुरु भएको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा मनोजकुमार शर्माको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको हो।
सर्वोच्च अदालतको एनेक्स भवनको संवैधानिक इजलासमा सुरु भएको सुनुवाइमा रिट निवेदक डा प्रेमराज सिलवालले बहस प्रारम्भ गरेका थिए। त्यसैगरी, वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई र शेरबहादुर केसी बहसमा सहभागी भएका तथा सुनुवाइको क्रम जारी रहेको छ।
वर्तमान अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ २७ मा प्रतिनिधिसभा विघटन गरेका थिए। अन्तरिम सरकारका प्रधानमन्त्रीको नियुक्ति र संसद् विघटन बदर एवं संसद् पुनः स्थापना समेतमा परमादेश माग गर्दै सर्वोच्च अदालतमा १६ वटा रिट निवेदन दायर भएका छन्। उक्त रिट निवेदनमाथि आजदेखि प्रारम्भिक सुनुवाइ भएको हो।
प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन पेस गर्नेहरूमा अधिवक्ता डा प्रेमराज सिलवाल, युवराज पौडेल, अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल, आयुष बडाल, मकबुल मियाँ, अधिवक्ता खड्कबहादुर शाह, डम्बरप्रसाद शिवाकोटी, अधिवक्ता दलबहादुर धामी, प्रकाश भुजेल र विपिन ढकाल, अधिवक्ता आभाष पोखरेल, ओमप्रकाशजङ्ग शाह, अधिवक्ता विमल पोखरेल, अधिवक्ता डा पुण्यप्रसाद खतिवडा र अधिवक्ता शेरबहादुर रोकाया छन्।
प्रकाशित: १२ कार्तिक २०८२ १३:५८ बुधबार



