राजनीति

नागरिकलाई महसुस हुने गरी स्वास्थ्य क्षेत्रमा सुधार भएन : मन्त्री पौडेल

फाइल तस्बिर

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई महसुस हुने गरी अझै पनि स्वास्थ्य क्षेत्रमा सुधार हुन नसकेको बताएका छन्।

‘परिवर्तन नेपाल’ संस्थाको दोस्रो वार्षिकोत्सवका अवसरमा बिहीबार यहाँ आयोजित कार्यक्रममा मन्त्री पौडेलले भने, 'स्वास्थ्य क्षेत्रको विकासका लागि नीतिगत सुधारको थालनी गरेका छौँ, अबको एक वर्षभित्र हामीले गरेको नीतिगत सुधारले जनतालाई स्वास्थ्य क्षेत्रमा अनुभूति दिलाउनेछ।'

वर्तमान सरकारले थालनी गरेका कुरा पूरा हुँदा आमनागरिकले स्वास्थ्य क्षेत्रमा सुधारिएको अनुभूति गर्ने मन्त्री पौडेलले उल्लेख गरे। मुलुकमा सुशासनको समस्या भएकाले यसका लागि निर्मम ढङ्गले काम गर्नुपर्ने अवस्था रहेको उनले बताए। सुशासनको अनुभूति नभएका कारण जनतामा निराशा छाएको उनको भनाइ थियो।

विद्यालय तहमा स्वास्थ्य शिक्षा अनिवार्य गरिनुपर्ने उल्लेख गर्दै मन्त्री पौडेलले स्वास्थ्य बिमाको दायरा रु एक लाखबाट रु दुई लाख पुर्याए पनि नागरिकको योगदानमा आधारित बिमा प्रणालीको विकास गर्नुपर्ने अवस्था रहेको बताए।

समाजलाई सक्रिय बनाउन परिवर्तन नेपालले खेलेको भूमिका सराहनीय रहेको उनले बताए। परिवर्तन नेपालले मुलुकको शिक्षा, स्वास्थ्य र सामाजिक जागरणका क्षेत्रमा गरेको काम उदाहरणीय रहेको उनको भनाइ थियो। 

प्रकाशित: १६ श्रावण २०८२ ०६:३७ शुक्रबार