राजनीति

छोरी हुनु नै ‘पाप’जस्तो बनाइन्छ, संविधानका अक्षर मात्रै हेरेर हुँदैन : सांसद कुँवर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद श्रदा कुँवरले महिलामाथि हुने हिंसा रोक्न कानुनको प्रभावकारी कार्यान्वयनसँगै समाजको सोच बदल्नुपर्ने बताएकी छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपा कुँवरले सदन र सरकारमा महिलाको उपस्थिति ऐतिहासिक भए पनि महिलामाथिको हिंसा र आक्रमण अझै नघटेको बताइन्। घरपरिवारदेखि यातायात, सडक, सामाजिक सञ्जाल हुँदै संसदसम्मै महिलामाथि हुने पीडादायी घटनाबाट समाज अनविज्ञ नरहेको उनको भनाइ थियो। ‘पासाङ, सीता र पारिजातका कथा र गाथा सुनाउने यो समाजमा एउटी नेपाली महिलाको वास्तविक यात्रा कति पीडादायी छ भन्ने कुरा यस सदनमा रहेका प्रत्येक महिलाले भोगेका र देखेका छन्,’ उनले भनिन्।

कुँवरले छोरी भएकै कारण गर्भमै हत्या हुने अवस्थादेखि जन्मिएपछि विभिन्न किसिमका हिंसा भोग्नुपर्ने अवस्थासम्मका उदाहरण प्रस्तुत गरिन्। उनका अनुसार बालिकादेखि किशोरी र विवाहपछि महिलाले समेत विभिन्न प्रकारका हिंसा र विभेदको सामना गर्नुपरेको छ। ‘जन्मिनुअघि नै छोरी भएकै कारण आमाको कोखमा हत्या हुन्छ। जन्मिएर बोली फुट्न नपाउँदै उनी गरिमा चौधरी बन्छिन्। बाँचेर हिँडडुल गर्ने उमेर पुग्दा निर्मला पन्त र मुस्कान खातुन बन्छिन्,’ उनले भनिन्।

विवाहपछि समेत महिलामाथि दाइजोका नाममा हिंसा हुने र कतिपय अवस्थामा आफ्नै श्रीमानबाट समेत हिंसा भोग्नुपर्ने अवस्था रहेको उनले बताइन्। गरिमा चौधरीको घटनामा गृहमन्त्रीसहित अन्य मन्त्रीले गरेको पहल सकारात्मक भए पनि महिलाको स्वाभिमानलाई सबैभन्दा ठूलो विषयका रूपमा लिनुपर्ने कुँवरको भनाइ थियो।

उनले संविधानको धारा १६ र १७ ले मृत्युदण्ड तथा देश निकाला जस्ता सजाय निषेध गरेको उल्लेख गर्दै महिलालाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने बताइन्। ‘एउटी छोरीलाई छोरी हुनु नै पापजस्तो बनाइन्छ भने हामीले संविधानका अक्षर मात्रै हेर्ने कि संविधानले दिएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार पनि सुनिश्चित गर्ने?’ उनले प्रश्न गरिन्।

महिलालाई आत्मरक्षा र आफ्नो सुरक्षा गर्न सिकाउने मात्रै नभई पुरुषलाई पनि मानवता र सम्मानको व्यवहार सिकाउनुपर्ने उनको भनाइ थियो। ‘समाज बदल्न छोरीलाई मात्र बलियो बनाएर पुग्दैन, छोरालाई पनि मानवता सिकाउनुपर्छ। समाजको सोच पनि बदल्नुपर्छ,’ कुँवरले भनिन्।

प्रकाशित: ८ भाद्र २०८३ १४:०२ सोमबार