नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले बीपी कोइरालाको समयकै जस्तो पार्टी बनाउनका लागि आगामी महाधिवेशनबाट आफू सभापति बन्नुपर्ने बताएका छन् ।
पार्टीको १५औं महाधिवेशन कहिले हुन्छ भन्ने निश्चित नभएपनि कांग्रेसका नेताहरूले महाधिवेशनको तयारी थालेको लामो समय भइसक्यो । तर, पार्टी नेतृत्वका विषयमा अहिलेसम्म मुख नखोलेका पूर्व महामन्त्रीसमेत रहेका बीपी पुत्र शशांकले पहिलो पटक शुक्रबार कांग्रेस धनुषाले जनकपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा पार्टी सभापतिको उम्मेदवार हुने घोषणा गरेका हुन् ।
‘मैले बीपी कोइरालाका पालाको जस्तो कांग्रेस बनाउन खोजेको छु । त्यही कारणले म नेपाली कांग्रेसको सभापति बन्न पर्छ,’ उनले भने,‘म लाखौँ कमाउने मान्छे हो मैले त्यो छोडेर राजनीतिमा आएको हो । मलाई कुनै लोभ छैन । म त नेपाली कांग्रेस बलियो बनाएर नेपाल र नेपालीको सेवाका लागि आएको हुँ ।’
आफ्ना हजुरबुवा कृष्णप्रसाद कोइरालाको हजारौ विगाह जमिन भएर पनि नेपाल र नेपालीका लागि जेलमै मृत्युवरण गरेको प्रसंग उल्लेख गर्दै शशांकले पार्टीलाई एकतावद्ध बनाएर देश र जनताको हितमा काम गर्ने पनि बताए ।
‘त्यही भएकाले भोलिका दिनमा महाधिवेशनमा मलाई तपाईहरुको सहयोगको अपेक्षा राखेको छु । सहयोग गर्नुहोला म तपाईहरुले खोजेको कांग्रेस बनाएरै छाड्छु,’ उनले भने ।
कम बोल्ने शशांक राजनीतिक भेटघाट र कार्यक्रममा समेत खासै देखिँदैनन् । पार्टी सभापति शेरबहादुर देउवाको मुख ताकेको आरोप खेप्दै आएका शशांक प्रदीप गिरिको स्मृतिसभामा सहभागि भएर जनकपुर पुगेका हुन् ।
सोहीक्रममा पहिलो पटक पार्टी सभापति बन्ने र त्यसका लागि सहयोग मागेका उनले मधेसप्रदेशबाट महाधिवेशनमा सभापतिको तयारी थालेको निकटहरू बताउँछन् । पूर्वमहामन्त्री शशांक निकट केन्द्रीय सदस्य उर्मिला थपलियाले १५औं महाधिवेशनमा शशांक कोइराला सभापतिको उम्मेदवार बन्नेगरी भेटघाटहरू भइरहेको दाबी गरिन् ।
शशांकले मधेस प्रदेशबाट पार्टी सभापतिका लागि औपचारिकरुपमै प्रचार सुरु गरेको दाबी गर्दै उनले भनिन्,‘अब महाधिवेशन केन्द्रित कार्यक्रम र भेटघाटहरू उहाँले अघि बढाउनुहुन्छ । त्यसकै सुरुवात हो यो ।’
पार्टीको १४औं महाधिवेशनमा दाजु शेखर कोइराला सभापतिको प्रत्यासी बनेपनि शशांक मौन बसेका थिए । त्यसको लाभ शेरबहादुर देउवाले उठाएको कांग्रेस नेताहरूको बुझाइ छ । आगामी महाधिवेशनमा देउवालाई पुनः सभापतिको प्रत्यासी बन्न विधानले दिँदैन ।
त्यतिबेला नै आफ्नो उत्तराधिकारी बनाउने आश्वासन शशांकलाई देउवाले दिएको कतिपय नेताहरूको दाबी छ । सोही अनुसार शशांक अहिलेसम्म मौन बसेको कांग्रेस नेताहरूको बुझाइ छ ।
यद्यपी कांग्रेसका नेतात्रय बीपी कोइरालापुत्र शशांक, गणेशमान सिंहपुत्र प्रकाशमान र महेन्द्रनारायण निधिपुत्र विमलेन्द्रबाट सुरु भएको लन्च मिटिङ विस्तार हुँदै जाँदा नेताहरू गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार र प्रकाशशरण महतसहितका नेताहरू एकअर्काको निवासमा जुट्दै आएका थिए ।
आगामी महाधिवेशनमा सबै सभापतिका आकांक्षी रहेपनि आफुहरू मध्यबाट एक जना मात्र उम्मेदवार हुने उनीहरूले बताउँदै आएका छन् । तर, पछिल्लो समय पूर्व पदाधिकारीहरू लन्च मिटिङ र पूर्वनिर्धारित कार्यक्रम हुन नसकेका बेला शशांकले पनि सभापतिको उम्मेदवारी घोषणा गरेका हुन् ।
शशांकका नाताले दाजु शेखर कोइरालाले आगामी महाधिवेशन केन्द्रित कार्यक्रम केही समयअघिदेखि नै चलाउँदै आएका छन् । पार्टीका नेता तथा कार्यकर्तालाई काठमाडौंमा मात्र होइन, जिल्ला–जिल्ला पुगेर उनले भेटघाटलाई तीव्र बनाउँदै आएका छन् ।
सोहीअनुसार फागुन पहिलो साता पदाधिकारी र पूर्वपदाधिकारीसहितका ११ नेताले सभापति शेरबहादुर देउवालाई भेटी उत्तराधिकारी तोक्न आग्रह गरेका थिए । लन्च मिटिङमा जुट्दै आएका सात पूर्वपदाधिकारी सबै आगामी महाधिवेशनमा नेतृत्वका आकांक्षी हुन् ।
उनीहरू सबै सभापति देउवासँग नजिकिने प्रयासमा छन् । देउवाको समर्थनसहित उत्तराधिकारी बन्न उनीहरू लालायित छन् । किनकि कांग्रेस विधानको विद्यमान व्यवस्थाले देउवालाई अब नेतृत्व प्रतिस्पर्धामा उत्रिने अधिकार दिँदैन।
कांग्रेस विधानले लगातार दुई पटकभन्दा बढी सभापति बन्न प्रतिबन्ध लगाएको छ। विधानको व्यवस्थाअनुसार चार वर्षभित्र महाधिवेशन नहुने त निश्चित नै भएको छ भने थपिएको अर्को एक वर्षमा पनि कांग्रेस महाधिवेशन हुनेमा अन्योल बढ्दै गएको छ।
कांग्रेस विधानअनुसार महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको चार वर्षे कार्यकाल आगामी मंसिरमा सकिँदै छ। विधानमा एक वर्ष कार्यकाल थप गर्न पाउने व्यवस्था छ । एक वर्ष कार्यकाल थप गर्दा कांग्रेसलाई २०८३ मंसिरसम्म महाधिवेशन गर्ने समय मिल्नेछ ।
संवैधानिक व्यवस्थाअनुसार प्रत्येक राजनीतिक दलले साढे पाँच वर्षभित्र महाधिवेशन गर्नुपर्छ । यो प्रावधान विगतमा प्रयोग गरेको कांग्रेसले अब पनि त्यसलाई उपयोग गर्नुपर्ने रणनीतिमा नेताहरू छन् । त्यस्तो अवस्थामा कांग्रेसलाई थप ६ महिना समय मिल्नेछ ।
त्यसो भएमा कांग्रेस १५औं महाधिवेशन २०८४ जेठसम्म गर्न उसले समय पाउनेछ ।
प्रकाशित: ६ भाद्र २०८२ २०:५२ शुक्रबार