प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सांसदलाई देशभर स्वतन्त्र रूपमा आवतजावत गर्न पाउने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। जनकपुर भ्रमणका क्रममा आफू र आफ्ना सहयोगीमाथि आक्रमण भएको बताउँदै वर्तमान राज्य व्यवस्थामाथि नै प्रश्न उठाएका हुन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले साउन ५ गते जनकपुर जाँदा अज्ञात समूहले आफूहरूलाई प्रवेश गर्न नदिने प्रयास गरेको र आफ्ना श्रमदातामाथि कुटपिट भएको भन्दै घटनाले छानविन गर्न सरकारसँग माग गरेका छन् ।
‘यो कानुनी राज्य हो कि जङ्गली राज्य हो ? मेरो घरको छेउमा नआऊ भनेको हो कि? यहाँ नजाऊ, यो बाटो नहिँड भन्ने अवस्था किन सिर्जना भयो?’ भन्दै उनले सरकारसँग प्रश्न गरे।
साम्पाङले उक्त घटनाबारे तत्काल गृहमन्त्रीलाई जानकारी गराए पनि हालसम्म दोषीमाथि कारबाही भए–नभएकोबारे कुनै जानकारी नपाएको बताए।
संसदमा बोल्दै उनले घटनापछि गृहमन्त्री एक समूहसँग बसेको र उक्त समूह आफूलाई ‘हिन्दु सम्राट सेना’ का रूपमा रहेको बताउँदै नेपालमा नेपाली सेना बाहेक अन्य कुनै सेना देशमा नभएको बताए।
‘यो देशमा नेपाली सेना बाहेक अर्को सेना छैन। ठाउँ–ठाउँमा सेना गठन गर्ने अधिकार कसले दियो? त्यसको मापदण्ड के हो?’ उनले सरकारको ध्यानाकर्षण गराए।
साम्पाङले लोकतान्त्रिक व्यवस्थामा निर्वाचित जनप्रतिनिधिले देशका जुनसुकै स्थानमा पनि निर्भय भएर जान र नागरिकसँग भेटघाट गर्न पाउने अधिकार सुनिश्चित गर्न सरकार गम्भीर भन्दै वर्तमान राज्य व्यवस्थामाथि नै प्रश्न उठाएका हुन्।
प्रकाशित: १९ श्रावण २०८३ १४:१० मंगलबार