एक हातले मोटरसाइकल चलाउँदै मोबाइलबाट भिडियो खिचेको भन्दै ट्राफिक प्रहरीले कारबाहीको तयारी गरेपछि प्रतिनिधिसभा सदस्य एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले त्यसको बचाउ गरेका छन्।
धरानमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एक हातले बाइक कुदाउनु सामान्य मानवीय व्यवहार भएको बताए। यसलाई ठुलो नियम उल्लंघन मान्न नसकिने उनको तर्क थियो।
केही दिनअघि उदयपुरबाट धरान आउने क्रममा एक हातले मोबाइल समातेर फेसबुक लाइभ गर्दा सन्तुलन गुमाएर दुर्घटनामा परेका साम्पाङले सो कार्यलाई अपराधका रूपमा हेर्न नहुने बताए।
‘बाइक कुदाउँदा खेरी भिडियो खिच्नु ट्राफिक उल्लङ्घन रैछ ? ठुलो नियम उल्लङ्घन रैछ ? एक हातले त बाइक कुदाइहालिन्छ नि, यो केको ठुलो इस्यु हो ?’ उनले प्रश्न गर्दै भने।
राज्य र सञ्चारमाध्यमले साना विषयलाई ठुलो बनाएको तर देशका गम्भीर समस्यामा मौन बसेको भन्दै उनले असन्तुष्टि पोखे। उनले नेपालको सिमाना मिचिएको, क्विन्टलका क्विन्टल सुन तस्करी भएको र सिंहदरबार जलाउने धम्की दिनेहरूमाथि कारबाही नभएको तर आफ्नो सानो गल्तीमा राज्य खनिएको आरोप लगाए।
‘मानवअधिकार आयोगले दिएको प्रतिवेदन र ठुला भ्रष्टाचारका काण्डहरूमा राज्यको आँखा जाँदैन, तर हर्क साम्पाङले बिना क्लिपको हेल्मेट लगायो वा एक हातले बाइक कुदायो भनेर ठुलो भूकम्प गएजस्तो गरिन्छ,’ उनले व्यङ्ग्य गरे, ‘मलाई कारबाहीको कुरा गर्नेहरूले देश लुट्नेहरूलाई किन देख्दैनन् ?’
यता, नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कोशीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दीपक गिरीले भने साम्पाङको कारबाही प्रक्रिया नरोकिने बताएका छन्।
‘भिडियोले नै नियम उल्लंघनको प्रमाण दिएको छ, सर्वसाधारणलाई कानुन लाग्ने र सांसदलाई नलाग्ने भन्ने हुँदैन,’ एसपी गिरीले भने।
प्रकाशित: २४ जेष्ठ २०८३ १८:३६ आइतबार