राजनीति

रास्वपा बैठकमा जुम्ली स्याउ बाँडिएकोमा रविलाई शाहीको धन्यवाद, भने- अब आयात रोकिदिनुस्

रास्वपाको केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ वितरण गरिएको विषयलाई लिएर सांसद ज्ञानेन्द्र शाहीले पार्टी सभापति रवि लामिछानेलाई धन्यवाद दिएका छन्।

शाहीले जुम्लाको स्याउ बाँडेर केन्द्रीय समिति बैठक सुरु गरेकोमा लामिछानेप्रति आभार व्यक्त गर्दै जुम्लाको स्याउको प्रचारमा यसले सहयोग पुग्ने बताएका हुन्।

साथै, उनले सरकार र कृषि मन्त्रालय रास्वपाकै नेतृत्वमा रहेकाले जुम्लाका किसानको उत्पादनले उचित मूल्य नपाएको विषयमा सरकारले ध्यान दिनुपर्ने बताए।

शाहीले जुम्लाको स्याउ बजारमा रहने समयसम्म विदेशबाट आयात हुने स्याउ रोक्न सरकारसँग अपिल गरेका छन्।

उनको भनाइ छ, ‘जुम्लाको स्याउ बाँडेर यसको प्रचार गरिदिनुभएकोमा धन्यवाद। अब जुम्लाको स्याउ बजारमा रहने समयसम्म विदेशबाट आउने स्याउ रोकिदिनुहोस्। यति गरिदिनुभयो भने जुम्लेली किसानले तपाईंको यो गुण कहिल्यै बिर्सने छैनन्।’

शाहीले जुम्लाका किसानको उत्पादनलाई प्राथमिकता दिँदै स्वदेशी स्याउले उचित बजार र मूल्य पाउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित: १७ आश्विन २०८३ १६:४७ शनिबार