राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारको पछिल्लो कदममा आफ्नो पूर्ण रूपमा समर्थन रहेको बताएका छन्।
सोमबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले अपराध गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका हुन्।
उनले सरकार र गृहमन्त्री सुधन गुरुङले चालेको कदम सही भएको भन्दै यसलाई प्रतिशोध भन्न नमिल्ने जिकिर गरे। सांसद शाहीले सबै अपराधी पक्राउ पर्दा त्यसलाई प्रतिशोधको नाम दिएर उम्किन नहुने बताए।
‘अपराध गर्ने सबैलाई पक्रिँदा सबैले प्रतिशोध भन्लान्, त्यसो भए कसैलाई नपक्रिने भन्ने हुन्छ त ?’ उनले प्रश्न गरे।
साथै, कारबाही चित्त नबुझ्नेहरूका लागि अदालतको ढोका सधैं खुला रहने पनि उनले औंल्याए।
यद्यपि, उनले सरकारलाई कानुनी प्रक्रिया भने पूर्ण रूपमा पुर्याउनु पर्नेमा जोड दिए। हतारमा काम गर्दा विधि नपुगेर भोलि अदालतले अपराधीलाई क्लिनचिट दिन सक्ने तर्फ उनले सरकारको ध्यानाकर्षण गराए।
यसैगरी, शाहीले २०४६ सालयता सार्वजनिक पदमा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने जोड दिएका छन्। अपराध प्रमाणित भएमा अहिलेका बहालवाला मन्त्री र प्रधानमन्त्रीसमेत जेल जानुपर्ने अवस्था आउन सक्ने उनले बताए।
भ्रष्टाचारविरुद्ध सडकबाटै आवाज उठाउँदा आफूलाई चितवनमा मारिने प्रयास भएको र सुर्खेतमा कुटिएको स्मरण गर्दै उनले थपे, ‘म सार्वजनिक पदमा बसेकै छैन, यो मेरो सडकमा कुटाइ खाएको अनुहार हो। पटक-पटक जेल परिएको छ, ज्यान मार्ने हमला भएको छ। अहिले सरकारले अघि बढाएको कदमबाट म अत्यन्त हर्षित छु।’
प्रकाशित: १६ चैत्र २०८२ १७:२६ सोमबार