राजनीति

ज्ञानेन्द्र शाहीको अपिल : अहिले सबैभन्दा ठूलो कुरा मान्छेको जीवन बचाउनु हो

फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले विपद्मा परेका नागरिकको उद्धार तथा सहयोगमा जुट्न देश–विदेशमा रहेका नेपालीलाई अपिल गरेका छन्।

शाहीले विभिन्न सञ्चारमाध्यममा हालसम्म करिब १५ हजारभन्दा बढी नेपाली बेपत्ता रहेको सूचना सार्वजनिक भएको भन्दै यो कठिन समयमा सबैले हातेमालो गरेर नागरिकको जीवन बचाउन केन्द्रित हुनुपर्ने बताएका हुन्।

उनले नागरिकसँग भएको सीप, क्षमता, स्रोत र साधनलाई अहिले देश र नागरिकको सेवामा लगाउन आग्रह गरेका छन्। इन्जिनियरलाई प्राविधिक सहयोग गर्न, स्वास्थ्यकर्मीलाई उपचारमा खटिन, उद्धारसम्बन्धी अनुभव भएकालाई उद्धार कार्यमा सहयोग गर्न र सञ्चारकर्मीलाई सही तथा प्रमाणित सूचना प्रवाह गर्न उनले आग्रह गरे।

'तपाईंसँग जुन सीप, क्षमता, स्रोत वा साधन छ, त्यसलाई अहिले देश र नागरिकको सेवामा लगाइदिनुहोस्,' उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'तपाईं इन्जिनियर हुनुहुन्छ भने प्राविधिक सहयोग गर्नुहोस्। स्वास्थ्यकर्मी हुनुहुन्छ भने उपचारमा खटिनुहोस्। प्राविधिक वा उद्धारको अनुभव छ भने उद्धारमा सहयोग गर्नुहोस्।'

त्यस्तै, स्वयंसेवकलाई राहत तथा व्यवस्थापनमा सहयोग गर्न र आर्थिक क्षमता भएका व्यक्ति तथा संस्थालाई धन, खाद्यान्न, औषधि तथा आवश्यक सामग्री सहयोग गर्न शाहीले अपिल गरेका छन्। 'तपाईंको सानो सहयोग पनि कसैका लागि जीवनदान बन्न सक्छ,' शाहीले भनेका छन्।

देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई आफ्नो ठाउँबाट सक्ने सहयोग गर्न आग्रह गर्दै उनले भने, 'जसले जे जानेको छ, त्यही गरौँ। जसले जे सकिन्छ, त्यही सहयोग गरौँ। अहिले सबैभन्दा ठूलो कुरा मान्छेको जीवन बचाउनु हो।'

प्रकाशित: १५ भाद्र २०८३ ०९:४१ सोमबार